चीनका लागि क्यानडियन राजदूत जोन म्याकालमलाई प्रधानमन्त्री ट्रुडोले गरे बर्खास्त


एजेन्सी- चिनियाँ टेलिकम तथा मोबाइल जाइन्ट हुवाई संस्थापकी छोरी तथा कम्पनीकी प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वान्खाको पक्राउ तथा त्यसपछिको अवस्थाकाबारेमा गरेको विवादास्पद टिप्पणीका कारण म्याकालम बर्खास्त भएका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका लागि क्यानडियन राजदूत जोन म्याकालमलाई बर्खास्त गरेका हुन् ।

प्रधानमन्त्री ट्रुडोले वक्तव्य जारी गरेर आफूले म्याकालमलाई राजीनामा दिन आग्रह गरेको उल्लेख गरेका छन् । तर त्यसमा कारण भने खुलाइएको छैन । प्रधानमन्त्री ट्रुडोले जारी गरेको वक्तव्यमा उल्लेख छ, ‘गए राति मैले जोनसँग राजीनामा मागेँ र उनले राजीनामा दिए, मैले त्यसलाई स्वीकार गरेको छु ।’

जोनले मंगलबार अमेरिकाले मेङ्गलाई पक्राउ गर्न गरेको आग्रह र त्यसपछिको प्रक्रिया गम्भीर त्रुटिपूर्ण रहेको बताएका थिए । यसले विवाद थप बढेको हो । अमेरिकाको आग्रहमा क्यानडामा मेङ्ग पक्राउ परेपछि चीन रुष्ट बनेको छ । यो घटनाले चीन र क्यानडाबिचको सम्बन्धमा तनाव आएको छ ।

मेङ्ग गएको डिसेम्बर १ मा भ्यानकुभरबाट पक्राउ परेकी थिइन् । हुवाई र स्काइकमबिचको सम्बन्धका बारेमा गम्भीर आरोप रहेको सुनुवाईको क्रममा देखिएको थियो । हुवाई र स्काइकमले इरानमा व्यवसाय गरेको थियो । मेङ्गले सुनुवाईको क्रममा दुई कम्पनी भिन्दा भिन्दै रहेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement