चिनियां कम्पनीले मागे १२ सय मेगावाट विद्युत उत्पादनको अनुमति


काठमाडौं – चिनियां कम्पनी सिचुवान वाङपिङ इनर्जी र गेजुवा ग्रुप पावर इन्भेष्टमेन्ट नेपालले करिव १२ सय मेगावाट जलविद्युत उत्पादनका लागि सर्वेक्षण अनुमति मागेका छन् । चीनको अर्को कम्पनी गेजुवाले रुकुम र जाजरकोटको सिमानामा ४४० मेगावाट क्षमताको भेरी–१ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिका लागि विभागमा निवेदन दिएको छ।जाजरकोटको भगवती टोल र रुकुमको गौतमकोटमा पर्ने भेरी–१ जलविद्युत आयोजनाका लागि, गेजुवाले गत भदौ २१ गते मात्र विभागमा निवेदन दिएको थियो ।
चिनियां कम्पनीले प्रदेश नम्बर ६ अन्तर्गत हुम्लामा २ र रुकुम तथा जाजरकोट सिमानामा १ गरि तीन आयोजनाको सर्वेक्षण अनुमतिका लागि निवेदन दिएका हुन् ।
सिचुवानले ४१० मेगावाट क्षमताको हुम्ला कर्णाली–१ र ३३५ मेगावाटको हुम्ला कर्णाली–२ गरि ७४५ मेगावाट विद्युत उत्पादनका लागि सर्वेक्षण अनुमति मागेको छ । सिचुवानले गत पुस ६ गते हुम्ला कर्णाली–१ र गत माघ १४ गते हुम्ला कर्णाली–२ को लागि विद्युत विकास विभागमा सर्वेक्षण अनुमतिको लागि निवेदन दिएको हो । विभागले अनुमति दिएमा सिचुवानले हुम्लाको खार्पुनाथमा ४१० मेगावाट र रायासायामा ३३५ मेगावाटको जलविद्युत आयोजनाको सर्वेक्षण गर्नेछ ।

विभागले अनुमति दिए दुई कम्पनीका तीन वटा आयोजनामा गरि एक हजार एक सय ८५ मेगावाट विद्युत उत्पादनको सर्वेक्षण हुनेछ । चालु आर्थिक वर्षमा विदेशी कम्पनीले सर्वेक्षण अनुमति मागेका यीनै तीन वटा आयोजना मात्रै हुन् । विदेशी लगानी ल्याउन कम्तिमा सय मेगावाट भन्दा ठूलो जलविद्युत आयोजना रोज्नुपर्छ । सय मेगावाट भन्दा ठूला जलविद्युत आयोजनामा कुल लगानीको ८० प्रतिशत सम्म विदेशी लगानी स्वीकृत गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement