काठमाण्डु- चीनले मधेसका विद्याथीहरूलाई साइकल वितरण गरेको छ ।
मधेस प्रदेशका बारा र पर्सा जिल्लाका एक हजार विद्यार्थीलाई चीनले साइकल वितरण गरेको हो । सोमबार मधेस प्रदेशका दुई जिल्लाका नौ सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई साइकल वितरण गरिएको हो ।
पहिलो चरणमा बाराका पाँच विद्यालयका ५०४ विद्यार्थी र पर्साका चार विद्यालयका ४९६ विद्यार्थीहरूलाई एक कार्यक्रमकाबीच साइकल वितरण गरिएको छ ।
बाइक सेयरिङ सेवा प्रदायक हेलो इंकले प्रदान गरेको साइकल प्राप्त गर्ने कम्बोडिया र लाओसपछि नेपाल तेस्रो देश बनेको छ । चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले ती विद्यार्थीहरूलाई साइकल वितरण गरेको हो । साइकल वितरण कार्यक्रममा फाउन्डेसनको नेपाल कार्यालयका निर्देशक जोउ झिकियाङ र नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर वाङ जिन उपस्थित थिए ।
‘यो सहयोगबाट दुर्गम क्षेत्रहरूमा बस्ने बालबालिकाहरूलाई विद्यालय जाने समस्या समाधान गर्न मद्दत गर्ने पहिलो कदम हुनेछ,’ जोउले भने ।
चिनियाँ दूतावासले नेपालमा परियोजनाहरूलाई प्रवद्र्धन गर्न र नेपाली जनतालाई थप लाभ पुर्याउन निरन्तर प्रयास गर्ने चिनियाँ दूतावासका काउन्सिलर वाङले भने ।
हेलो इंकसँगको सहकार्यमा फाउन्डेसनले २०२१ मा अन्तर्राष्ट्रिय साइकल परियोजना सुरु गरेदेखि २०२४ को अन्त्यसम्ममा कम्बोडिया र लाओसमा ६ हजार २४ वटा साइकल वितरण गरेको छ ।
चिनियाँ पक्षले नेपालमा गरिबी न्यूनीकरण परियोजनाको शृङ्खला सुरु गरेको छ । यस परियोजनामा ‘जीवन्त गाउँ’, ‘खुशी समुदाय’, ‘सुरक्षित पिउने पानी’ र ‘भविष्यलाई उज्यालो बनाउने’ जस्ता कार्यक्रम समावेश छन् ।
प्रतिक्रिया