चाइना फाउण्डेशनद्धारा ५ विद्यालयका ८४७ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


कञ्चनपुर – कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडांडी गाउंपालिकाका ५ विद्यालयलाई चाइना फाउण्डेशन पोभट्री एलिभेशनको सहयोग र राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समिति समाज अनामनगरको समन्वयमा विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेशनरी सामग्री वितरण गरेको छ ।

बेलडांडी गाउँपालिकाका ५ विद्यालय त्रिशुली आधारभूत, गणेश माध्यमिक विद्यालय, बैजनाथ माध्यमिक बिद्यालय, कालिका आधारभूत विद्यालय र सरस्वती जनता माध्यमिक विद्यालयका ८४७ जना विद्यार्थीलाई दशैको मुखमै शैक्षिक सामग्री र स्कुल ब्याग वितरण गरेको हो ।

विद्यालय शैक्षिक सामग्रीका कारण विद्यालय नजाने बिद्यार्थीहरुलाई, शैक्षिक स्तर माथी उकास्नका लागि, विद्यार्थीहरुमा सकारात्मक विचारको विकासका लागि शैक्षिक सामग्री वितरण गरेको चाइना फाउण्डेशनकी प्रतिनिधी कोपिला खडकाले जानकारी गराईन् ।
उनकाअनुसार धेरै जसो अभिभावकले आफ्ना नानी बाबुलाई शैक्षिक सामग्री नभएकै कारण स्कुल पठाउन सकेका हुदैनन् त्यस्ता विद्यार्थीहरुलाई प्रत्यक्ष सहयोग पुग्ने भएकोले सहयोग गरेको बताइन ।

राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजका प्रतिनिधी कृष्ण प्रसाद ढकालले भने यो सामग्रीले विद्यार्थीलाई हौसाला पुग्ने भन्दै विद्यालय नजाने बालबालिका समेत विद्यालय जाउन भन्ने उद्देश्य समेत रहेको बताए । उनकाअनुसार यो ब्याग भित्र कपी, पेन्सिल, कलर बक्स, औजार बक्स, लगायतका सामग्री छन् ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा सामग्री वितरण गर्दै बेलडाँडी गाउँपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले यस्ता प्रकारका कामलेस्कुल नजाने बालबालिका स्कुल जानका साथै हौसिएर उसको शैक्षिक विकास समेत हुने बताए । उनले आगामी दिनमा समेत सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।

बेल्डाडी गाउंपलिका वडा नं. ५ का वडाध्यक्ष कृष्ण बहादुर रोकायाले यस्तो कार्यले बालबालिकालाई पढ्नमा हौसला प्रदान गरेको बताउदै आगामी दिनमा वडाबाट पनि यस्ता शैक्षिक सामग्री वितरण गर्ने बताए ।

सरकारी विद्यालयललाई स्कुल ब्याग र शैक्षिक सामाग्री वितरण गर्ने काम उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री बर्षमान पुनका प्रेस संयोजक रोशन खडकाको पहलमा भएको थियो । उनले नै सुची तयार पारेर चाइना फाउण्डेशनलाई सहयोगका लागी आग्रह गरेका थिए । खड्का आफ्नो क्षेत्रको विकासका समेत सक्रिय रहंदै आएका छन् ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, सदस्यहरु, कञ्चन सामुदायिक विकास केन्द्रका प्रतिनिधी, शिक्षक, पत्रकार, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सामग्री पाउने विद्यालयका शिक्षकहरुले धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement