भारतीय पत्रिकाको दाबीः नेकपा मिलाउन चीनकाे एक समूह काठमाण्डुमा परिचालन


एजेन्सी – चीनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउन एक ‘गुप्त टोली’ काठमाण्डुमा राखेको खुलेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका तीन जना अधिकारीलाई नेकपाभित्रको विवाद मिलाउनका लागि काठमाण्डुमा राखेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले बताएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमेटीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली काठमाण्डु पठाएका थिए । चार सदस्यीय उक्त टोलीले नेपालका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए ।

चिनियाँ टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्या भण्डारी, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेको थियो ।

उपमन्त्री गुओ नेतृत्वको टोलीले संसद विघटनको मुद्दालाई सर्वोच्च अदालतले फिर्ता गर्न आदेश जारी गर्ने सम्भावनालाई सम्बोधन गर्नका लागि डिजाइन गरेको उक्त पत्रिकाले जनाएको छ । उच्च प्रोफाईल गुओ नेतृत्वको प्रतिनिधिमण्डल भने चिनियाँ प्रयासको सार्वजनिक अनुहार मात्र हो ।

‘चिनियाँ टोलीको अर्को डिजाइन थियो– सर्वोच्चले प्रतिनिधिसभा भंग गर्ने निणय नमानेको अवस्थामा कांग्रेसलाई सहभागी गराई कम्युनिस्ट नेतृत्वकै सरकार बनाउने’, हिन्दुस्तान टाइम्सले सीपीसीका एक नेतालाई उद्धृत गर्दै लेखेको छ, ‘भित्री पहल जारी नै छ । उनीहरू दोस्रो टोलीका हिस्सा हुन् । कुओ नेतृत्वको टोली काठमाडौं उत्रनुअघि नै चीनबाट सडकमार्ग हुँदै अर्को टोली नेपाल आइपुगेको थियो ।’

चिनियाँ कम्युनिष्ट पार्टीले नेपालको राजनीतिमा केन्द्रित व्यक्तिहरूलाई हातमा लिएर वर्षौंसम्म राजनीतिक नेता खेती गरिरहेको उक्त पत्रिकाले आरोप लगाएको छ । ‘यसलाई ‘ब्याक च्यानल’ प्रयास भन्न सकिन्छ जुन राडारको मुनि रहन्छ’, नेपालका एक कूटनीतिज्ञले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement