विचार

खुलापन र सुधार नीति अवलम्बन गरेको चीनको चालीस वर्षे यात्रा

अजय अलौकिक गत डिसेम्बर १८ मा चीनले खुलापन र सुधार नीतिको चालीसौं वर्षगाँठ मनाएको छ। खुलापन र सुधार नीति लागू गरेकै कारण चीन आजको वैभवशाली स्थितिमा पुगेको हो। चीन विश्वको दोस्रो आर्थिक शक्ति, सबैभन्दा ठूलो ‌औद्योगिक र विदेशी मुद्रा सञ्चयकर्ता मुलुक बनेको छ। चीनसँग सबैभन्दा बढी विदेशी मुद्रा सञ्चिती अर्थात् ३.१२ ट्रिलियन अमेरिकी डलर छ ।

Dish Home

चालीस वर्षको दौरान चीनको समष्टिगत क्षमतामा फट्को मार्ने गरी विकास भएको छ। बितेका ४० वर्षमा चीनको कुल ग्राहस्थ्य उत्पादन (जीडीपी) को औसत वार्षिक वृद्धिदर ९.५ प्रतिशत छ, जुन सन् १९७८ बाट २०१७ सम्मको अवधिमा ३३.५ गुणाले बढेको छ। सन् २०१७ मा यो जीडीपीको आँकडा १२.८४ ट्रिलियन अमेरिकी डलर पुगेको छ र विश्व अर्थतन्त्रमा चीनको योगदान ३० प्रतिशतभन्दा बढी पुगेको छ। साथै प्रतिव्यक्ति जीडीपी ८,८३६ अमेरिकी डलर पुगेको छ ।

तथ्यांकअनुसार, सहरी प्रतिव्यक्तिको व्यययोग्य आय सन् १९७८ को ३४३ चिनियाँ युआनबाट सन् २०१७ मा ३६,३९६ युआन (५,२४५ डलर) पुगेको छ भने ग्रामीण प्रतिव्यक्ति शुद्ध आय १३३.६ चिनियाँ युआनबाट १३००० युआन पुगेको छ। ग्रामीण र सहरी रोजगारको संख्या सन् १९७८ बाट २०१७ को अन्त्यसम्म आइपुग्दा ७७ करोड पुगेको छ। ७० करोड जनता गरिबीबाट मुक्त भएका छन्। चीनले प्रतिवर्ष एक करोड ५० लाख नागरिकलाई रोजगार सिर्जना गर्दै आएको छ। हाल चीनले ९० करोड जनताका निम्ति पेन्सन बिमाको व्यवस्था गरेर संसारकै सबैभन्दा ठूलो सामाजिक सुरक्षा संयन्त्र तयार पारेको छ ।

विश्वकै पहिलो आर्थिक शक्ति बन्ने दौडमा रहेको चीन हाल विश्वमै सबैभन्दा ठूलो व्यापारिक मुलुक पनि हो। सन् १९७८ देखि २०१७ सम्म चीनको व्यापारिक साझेदारी लगभग चालीस देशबाट २३१ देश तथा क्षेत्रसम्म फैलिएको छ। तथ्यांकअनुसार, सन् १९७८ देखि २०१७ सम्म चीनको आयात–निर्यात रकम ३५ अर्ब ५० करोड चिनियाँ युआनबाट २७.८ ट्रिलियन युआनसम्म बढेको छ। त्यसैगरी चीनको सेवा व्यापार क्षेत्र सन् २०१४ सम्म आइपुग्दा दोस्रो स्थानमा उक्लेको छ। सन् २०१७ मा सेवा आयात तथा निर्यातमा संलग्न रकम करिब सात सय बिलियन अमेरिकी डलर पुगेको छ र यसले विश्वको ६.७ प्रतिशत हिस्सा ओगटेको छ ।

चीनको आउट बाउन्ड प्रत्यक्ष लगानी (ओडीआई) सन् २०१६ मा दोस्रो स्थानमा उक्लिएको थियो। चीनमा कुल वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) २०१३ मा दोस्रो स्थानमा पुगेको थियो भने सन् २०१७ मा चीनको एफडीआई १३५ अर्ब अमेरिकी डलर छ। साथै चीन सबैभन्दा ठूलो सवारीसाधनको बजार पनि हो, सन् २०१७ मा २४.७२ मिलियन सवारी साधन बिक्री भएको थियो ।

चिनियाँ विशेषताको समाजवाद नाम दिइएको यो खुलापन र सुधार नीति सही अर्थमा एउटा क्रान्ति नै थियो, सांस्कृतिक क्रान्तिपछिको जर्जर आर्थिक अवस्थामा सुधार र विकास अपरिहार्य भइसकेको बेला वरिष्ठ नेता तङ स्याओ पिङ (देङ स्याओ पिङ) ले यो नीति प्रतिपादन गरेका थिए। पेचिङमा सन् १९७८ डिसेम्बर १८÷२२ सम्म चलेको चिनियाँ कम्युनिस्ट पार्टीको एघारौं केन्द्रीय समितिको तेस्रो सत्रको निर्णायक बैठमा नेता तङले आर्थिक निर्माणमा केन्द्रित रहेर सुधार र खुलापनको नीति लागू गर्ने ऐतिहासिक निर्णय गरेका थिए ।

एउटा दूरदर्शी निर्णय र यसको निरन्तर कार्यान्वयनले चीनको चालीस वर्षको अपूर्व यात्राबाट चिनियाँको जीवन समृद्ध भएको छ तर यो क्रम यहीं रोकिने छैन। चीनले सन् २०२० सम्ममा समृद्ध समाज निर्माणका साथै पूर्णरूपमा गरिबी निवारणको लक्ष्य पूरा गर्दैछ। सन् २०३५ सम्ममा समाजवादी आधुनिकीकरणलाई आधारभूत रूपमा पूरा गर्ने योजना बनाएको छ। सन् २०५० सम्ममा एक समृद्ध, प्रजातान्त्रिक, सभ्य, मेलमिलापयुक्त र सुन्दर समाजवादी आधुनिक शक्तिशाली देश बनाउने लक्ष्यका साथ चीन अघि बढिरहेको छ ।

साथै चिनियाँ राष्ट्राध्यक्ष सी जिनपिङले ४०औं वर्षगाँठ समारोहमा सुधार र खुलापनलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै त्यही नीतिका आधारमा निरन्तर अगाडि बढिरहने बताएका छन्। यस चालीस वर्षमा चीन र चिनियाँ नेता देङदेखि पछिल्ला नेता सीसम्म सबै एउटै लयमा हिँडेको देखिन्छ। माओत्से तुङको प्रमुख प्रतिनिधित्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीले जन गणतन्त्र चीनको स्थापना गरी समाजवादको आधारभूत प्रणाली स्थापना गरेका थिए भने देङ स्याओ पिङले चिनियाँ विशेषतायुक्त समाजवादको सफलताका साथ स्थापना गरे र जियाङ जमिन र हु जिन्ताओले समाजवादलाई एक्काइसौं शताब्दीमा र नयाँ ऐतिहासिक विन्दुमा ल्याइपु¥याएका थिए ।

सीले यसै नीतिलाई निरन्तरतासँगै एक कदम अघि बढेर प्राचीन रेशममार्गलाई ब्युँताएका छन्। नवीन रेशममार्ग अर्थात् बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को थालनी गरेका छन्, जसमा नेपालसहित १४० मुलुक आबद्ध भइसकेका छन्। हाल २४ वटा देशमा ८२ वटा आर्थिक तथा व्यापारिक सहयोग क्षेत्र सञ्चालित छन्। साथै यसै वर्ष यो बीआरआई परियोजनाले पाँच वर्ष पूरा गरेको छ र विगत पाँच वर्षमा चीन र अरू मुलुकबीच मालसामान व्यापारमा संलग्न रकम पाँच ट्रिलियन अमेरिकी डलर पुगेको छ भने प्रत्यक्ष लगानी ७० बिलियन अमेरिकी डलर पुगेको छ ।

यसैबीच यसै वर्षबाट अन्तर्राष्ट्रिय आयात एक्स्पोको पनि सुरुवात गरेको छ र विगत ४० वर्षदेखि खुला भएको चीन अझ खुला बनाउँदै समाजवादी आधुनिक शक्तिशाली मुलुक निर्माणको दिशातिर अग्रसर रहेको सन्देश दिएको छ। तर हाल चीनसमक्ष धेरै अवरोध देखिएका छन्। यसै वर्ष अमेरिकासँग व्यापार युद्ध भएको छ, जुन सहज रूपमा अन्त्य होलाजस्तो देखिँदैन। संरक्षणवाद, एकपक्षीयतावाद, विश्व व्यापार घर्षणको वृद्धिबाट चीनको विकासमा थप चुनौती र अनिश्चितता देखिएको छ ।

यस अवस्थामा पनि खुला ढोका अझै खुला राख्ने पक्षमा दृढ रहेको छ, चीन। सीले समाजवादको झन्डा चीनमा सदा फहराउने र चीनको आर्थिक विकासको मार्गमा कुनै पनि मुलुकले हस्तक्षेप गर्न नसक्ने र विश्वको समृद्धिमा समेत चीनको आवश्यकता रहनेसमेत बताएका छन् ।

सन् २००८ को विश्व आर्थिक मन्दीको अवस्थादेखि स्पष्ट रूपमा चीनले विश्व अर्थतन्त्रमा योगदान पु¥याइरहेको छ। साथै संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा चीन दोस्रो ठूलो योगदानकर्ता मुलुक हो। यस खुलापनको नीतिबाट चिनियाँले मात्रै होइन, सिंगो विश्वले नै लाभ उठाइरहेको छ। हाल चीनको अतुलनीय विकासको प्रशंसासहित चीनलाई पछ्याउने र साथै ईश्र्या गर्ने र त्रसित हुने मुलुकहरूको पनि कमी छैन ।

प्रागैतिहासिक कालदेखि सम्बन्ध रहेको छिमेकी मुलुक नेपालले भने चीनले चालीस वर्षभित्र गरेको कायापलटलाई हेरेर पनि फाइदा उठाउन सकेको छैन। चालीस वर्षमा हिमालपारिको अभूतपूर्व विकासको अगाडि हिमालवारि सिन्कोसमेत भाँचेको छैन भन्दा फरक नपर्ला। कछुवा गतिमा मात्र विकास भएको देखिन्छ। त्यसबाहेक उता आर्थिक क्रान्तिसँगै देशलाई अब्बल बनाउने होड चल्दै गर्दा यता भने राजनीतिक घटनाक्रममा मात्र परिवर्तन आइरह्यो ।

चालीस वर्षको अवधिमा एकदलीय पञ्चायतविरुद्ध असफल आन्दोलन त्यसपछि सत्याग्रह अनि १९९० मा आएर बहुदलीय प्रजातन्त्रको प्राप्ति अनि माओवादीको गृहयुद्ध, शान्तिवार्ता त्यसपछि लोकतन्त्र अनि राजतन्त्रको अन्त्यसहित संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक र सन् २०१५ मा आएर नेपालको संविधानलाई संस्थागत गरियो। यसरी यता विभिन्न तन्त्रमा मात्रै अल्झिरहँदा उता आर्थिक विकासलाई मन्त्रको रूपमा अगाडि बढाइयो ।

त्यसबाहेक उता एउटै नीतिलाई चालीस वर्षमा पछ्याइरहँदा यता राम्रानराम्रा कुनै पनि नीतिको एकले अर्को पक्षको विरोध गर्नैपर्ने परिपाटी विकास हुँदै गयो र एकअर्काको त्रुटि मात्र केलाउने र राम्रा पक्षमा श्रेय नदिने चलन चल्दै आएको छ। त्यसबाहेक नारा, वाचा र टुक्काले नेपाली जनतालाई भ्रममा बाँच्ने र आफ्नो दुर्दशामाथि रम्नुपर्ने बाध्यता छ ।

अहिले दशकौंसम्मको अस्थिर सरकारबाट नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा गठित बहुमतीय सरकार छ। छिमेकी मुलुक चीनको छिमेकीको पनि उत्थान गर्ने नीति, नेपाल बीआरआईमा संलग्न भइसकेको अवस्था र स्थिर सरकार बनेको अवस्थामा नेपाल उठ्नुपर्छ। हाललाई अल्पविकसित देशबाट विकासोन्मुख देशमा फट्को मार्ने लक्ष्यलाई तीव्ररूपमा बढाउनुपर्छ। सुखी नेपाली, समृद्ध नेपाललाई नारा मात्रै होइन, सारा नेपालीले आत्मसात गरेर यथार्थमा बदल्न अब सदाशयताका साथ ढिलो नगरी लागौं ।

तङ स्याओ पिङले सन् १९७८ मा आर्थिक सुधारका कदम चाल्दा न उनी राष्ट्रप्रमुख थिए न त सरकार प्रमुख नै। त्यस बेला विश्व अर्थतन्त्रमा चीनको हिस्सा जम्मा १.८ प्रतिशत थियो। सन् २०१७ मा आएर त्यो हिस्सा १५.२ प्रतिशत पुगेको छ। २५० मिलियन गरिब जनताको अवस्थाबाट अबको दुई वर्षभित्रमा पूर्णरूपमा गरिबी उन्मूलन गर्दैछ। विश्व बैंकका अनुसार, मानव इतिहासमा नै विगत चालीस वर्षमा चीनले आठ सय मिलियन गरिब जनताको उत्थान गरी गरिबी निवारण अभियानमा विशाल फट्को मारेको छ ।

यो सबै चिनियाँ नेताको दूरदर्शी निर्णय र योजना तथा सारा चिनियाँ जनताको लक्ष्य भेदनका लागि अथक मेहनत नै हो। यसैको प्रतिफलस्वरूप चीनको तीव्रतासहित अभूतपूर्व तथा अकल्पनीय परिवर्तन भएको छ र आज चीन यस वैभवशाली स्थितिमा पुगेको छ ।

(अजय जनगणतन्त्र चीनको बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोविशेषज्ञ हुन् ।)

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top