लिलामणी पौडेललाई चीनको राजदूत बनाउने तयारी


काठमाण्डु – पुर्व मुख्यसचिव लीलामणी पौडेल चीनको राजदूत बन्ने पक्कापक्की भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पौडेलको पक्षमा अडान नछोडेपछी प्रधानमन्त्री शेरबहादुर देउवा उनलाई राजदूत बनाउन सहमत भएका हुन् ।

पौडेललाई यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले चीनबाट फिर्ता बोलाएको थियो । चीनमा छंदा पौडेललाई प्रधानमन्त्री ओलीको विरोधमा गतिविधि गरेको र माओवादी केन्द्रका अध्यक्ष दाहालको पक्षमा लविङ गरेको आरोपमा फिर्ता गरिएको थियो ।

पौडेलले केही समयअघि मात्र एमसीसी सम्झौताको बारेमा विवादित अभिव्यक्ति दिएपछी आलोचित भएका थिए । उनको सामाजिक संजालमा आलोचना भएपछी पौडेलले सार्वजनिक रुपमा माफी समेत मागेका थिए । उनि पछिल्लो समय माओवादी केन्द्रका राजनीतिक गतिविधिमा समेत सक्रिय छन् ।

पौडेलले फागुन १३ गते प्रज्ञा भवनमा आयोजित कार्यक्रममा एमसिसीको पक्षमा वकालत गर्न पैसा बांडिएको छ भन्ने विवादित अभिव्यक्ति दिनुका साथै अर्थमन्त्रालयको सचिव समेत नेपाल सरकारले सरुवा गर्न नसक्ने बताएका थिए ।

पौडेलले एमसीसी विरुद्धमा अभिव्यक्ति दिएको र चीन सरकारको प्रतिनिधीभन्दा बढी चीनको वकालत गरेको भन्दै उनलाई राजदूत नियुक्त गर्न नहुने सुझाव प्रधानमन्त्री देउवालाई दिइएको स्रोतले बतायो । प्रधानमन्त्रीले शिर्ष नेताहरुको बैठकमा पौडेललाई राजदूत बनाउन नसकिने अडान राख्दै आएका थिए । तर, शुक्रवार सांझसम्म भने उनी राजदूत भएको स्रोत बताउंछ ।

कांग्रेसका केही प्रभावशाली नेताहरुले चीनमा कम्युनिष्ट पृष्ठभुमिको व्यक्तिलाई भन्दा कांग्रेस निकटलाई पठाउन समेत प्रधानमन्त्री देउवालाई सुझाएका थिए । यसअघि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रहेका दिनेश भट्टराईले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई भेटेर आफुलाई चीनको राजदूत बनाउन आग्रह गरेको स्रोतको दावी छ । तर,माओवादी केन्द्रले पौडेलको पक्षमा अन्तिम समयसम्म अडान लिएपछी प्रधानमन्त्री देउवा गलेका छन् ।

सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले पौडेलसहित विभिन्न देशमा राजदूत नियुक्त गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement