काठमाण्डु- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र नेतृत्वको कार्यशैली, शक्ति केन्द्रीकरण, अवसर वितरण र आन्तरिक लोकतन्त्रको अवस्थामाथि गम्भीर प्रश्न उठाएका छन् ।
पार्टीको बुधबारदेखि काठमाण्डुमा सुरू राष्ट्रिय भेलामा प्रस्तुत गरेको ‘शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी’सम्बन्धी राजनीतिक तथा संगठनात्मक दस्तावेजमा पोखरेलले पार्टीभित्र मौलाउँदै गएको नेतृत्वकेन्द्रित प्रवृत्ति, सामूहिक निर्णय प्रक्रियाको कमजोरी र आलोचना गर्न नसक्ने वातावरणप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
दस्तावेजमा उनले अध्यक्ष केपी शर्मा ओलीको नामै लिएर आलोचना गरेका छैनन् । तर पार्टी सञ्चालनमा सीमित व्यक्तिको प्रभाव बढ्दै गएको, नेतृत्वको वरिपरि घुम्नेहरूले अवसर पाउने गरेको र पदाधिकारीहरूको जिम्मेवारीसमेत स्पष्ट नभएको उल्लेख गर्दै नेतृत्वको कार्यशैलीमाथि अप्रत्यक्ष प्रश्न उठाएका छन् ।
‘संगठनात्मक र वैचारिक काममा खटिनेभन्दा अवसरका लागि नेतृत्वको वरिपरि घुम्ने प्रवृत्तिले प्राथमिकता पाएको अनुभूति कार्यकर्तापङ्क्तिमा देखिन्छ,’ पोखरेलले दस्तावेजमा भनेका छन्।
उनले पार्टीभित्र कार्यकर्ताको मूल्याङ्कन वैज्ञानिक, वस्तुनिष्ठ र कार्यसम्पादनमा आधारित हुन नसकेको पनि स्वीकार गरेका छन् । जिम्मेवारी, पदोन्नति, अवसर तथा उम्मेदवार छनोटका विषयमा असन्तुष्टि उत्पन्न हुँदा त्यसलाई समयमै सुन्ने र समाधान गर्ने प्रणाली कमजोर रहेको उनको निष्कर्ष छ ।
पोखरेलले पार्टीको बहुपदीय संरचना प्रभावकारी हुन नसकेको विषयलाई पनि उठाएका छन् । नेतृत्व विकास, हस्तान्तरण र पुस्तान्तरणको सहज प्रणाली निर्माण गर्ने उद्देश्यले बहुपदीय संरचना अपनाइए पनि व्यवहारमा त्यसको प्रभावकारी अभ्यास हुन नसकेको उनको टिप्पणी छ।
‘बहुपदीय संरचना विकास भए पनि सबै पदाधिकारीको कार्यविभाजन स्पष्ट नहुँदा कतिपय जिम्मेवारी सीमित व्यक्तिमा केन्द्रित हुने र कतिपय पदाधिकारी जिम्मेवारीविहीन हुने अवस्था देखिएको छ,’ दस्तावेजमा भनिएको छ ।
उनले पुरानो र नयाँ पुस्ताबीच विश्वास, समझदारी र सहकार्य कमजोर हुँदा त्यसको असर पार्टी निर्माणमा परेको उल्लेख गरेका छन् । सम्भावनायुक्त कार्यकर्ताको पहिचान, प्रशिक्षण, जिम्मेवारी र पदोन्नतिको व्यवस्थित प्रणाली बनाउनुपर्ने उनको प्रस्ताव छ ।
आलोचना गर्न नपाइने अवस्था र नेतृत्वमाथि प्रश्न
पोखरेलले पार्टीभित्र आलोचना र आत्मालोचनाको संस्कृति कमजोर हुँदै गएको विषयलाई पनि प्रमुखताका साथ उठाएका छन् । कमिटीभित्र खुला छलफल, स्वस्थ बहस र आलोचना गर्ने वातावरण कमजोर भएको तथा सुझाव वा आलोचनालाई व्यक्तिगत आक्षेपका रूपमा लिने प्रवृत्ति बढेको उनको भनाइ छ ।
‘यसले कार्यकर्तालाई कमिटीभित्र बोल्न असहज बनाएको छ र असन्तुष्टि सामाजिक सञ्जाल वा अनौपचारिक वृत्तमा अभिव्यक्त हुने गरेको छ,’ उनले दस्तावेजमा उल्लेख गरेका छन् ।
उनले आलोचना र आत्मालोचनालाई दण्डको भयबाट मुक्त गर्दै सुधारको माध्यम बनाउनुपर्ने बताएका छन् । पार्टीभित्र असहमतिलाई विरोधका रूपमा बुझ्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको जोड छ ।
‘असहमति पार्टीको शक्ति हो,’ पोखरेलले पार्टी सुदृढीकरणका लागि प्रस्ताव गरेका १५ काममध्ये आन्तरिक संवाद र अनुशासनको सन्तुलनसम्बन्धी बुँदामा भनेका छन् ।
उनले पार्टीका नेता तथा कार्यकर्ताले आफ्ना कुरा सहज रूपमा राख्न सक्ने, खुला छलफल र बहस गर्न सक्ने तथा असहमतिलाई सम्मानपूर्वक व्यवस्थापन गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
शुद्धीकरणको आवश्यकता
पोखरेलले पार्टीको विगतको छवि र पछिल्लो अवस्थाको तुलना गर्दै एमालेभित्र अनुशासन, जीवनशैली र आचरणका क्षेत्रमा गम्भीर विचलन देखिन थालेको बताएका छन् ।
एमाले विगतमा अनुशासन, नैतिक सदाचार र सादगीका कारण नेपाली कम्युनिस्ट आन्दोलनको मूलप्रवाहका रूपमा स्थापित भएको उनले बताएका छन् । तर पछिल्लो समयमा कतिपय नेता तथा कार्यकर्ताको आर्थिक जीवन भड्किलो हुँदै गएको र नैतिक आचरणमाथि गम्भीर प्रश्न उठ्ने गरेको छ ।
‘आर्थिक अपराध, अनियमितता तथा यौनजन्य गतिविधिसँग जोडिएका घटना र आरोप सार्वजनिक रूपमा उठ्दा तिनको संस्थागत छानबिन तथा तथ्यपूर्ण प्रतिवाद पर्याप्त रूपमा हुनसकेको छैन,’ उनले लेखेका छन् ।
आरोप सत्य वा असत्य जे भए पनि निष्पक्ष छानबिन, तथ्यमा आधारित निर्णय र आवश्यकताअनुसार कारबाहीको प्रक्रिया स्थापित गर्नुपर्ने उनको प्रस्ताव छ । उनले पार्टी शुद्धीकरण कसैलाई निषेध गर्ने माध्यम बन्न नहुने भन्दै एकै प्रकृतिका घटनामा दोहोरो मापदण्ड अपनाउन नहुने पनि उल्लेख गरेका छन् ।
नेता तथा कार्यकर्ताको सम्पत्ति स्वघोषणा अनिवार्य गर्नुपर्ने, जनप्रतिनिधिमूलक निकायमा उम्मेदवार बन्न तथा राजनीतिक नियुक्ति लिन आर्थिक पारदर्शिता र उच्च नैतिकतालाई मापदण्ड बनाउनुपर्ने उनको प्रस्ताव छ ।
हारको जिम्मेवारी र संगठनात्मक कमजोरी
पोखरेलले भदौ २३ र २४ को जेनजी आन्दोलन तथा फागुन २१ को निर्वाचनपछि एमाले रक्षात्मक अवस्थामा पुगेको स्वीकार गरेका छन् । उनले निर्वाचन परिणामलाई अत्यन्त अनपेक्षित र निराशाजनक भन्दै त्यसले पार्टीपङ्क्तिमा निराशा, निष्क्रियता र पलायनताको प्रवृत्तिसमेत बढाएको उल्लेख गरेका छन् ।
निर्वाचनमा पराजयको कारण बाह्य परिस्थितिमा मात्रै खोज्न नहुने उनको दस्तावेजको आशय छ । पार्टीभित्रका कमजोरी पहिचान गरी समाधान नगरेसम्म बाह्य चुनौतीको सामना गर्न नसकिने उनले बताएका छन् ।
उनले पार्टीको संगठनात्मक अवस्था कमजोर बनेको र सुरु गरिएको ‘मिसन पार्टी जागरण’ अभियानसमेत प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन् ।
तल्ला कमिटीका बैठकमा कोरमको समस्या बढ्दै गएको, बैठक तथा कार्यक्रममा कार्यकर्ताको सहभागिताले उत्साह भर्न नसकेको, सदस्यता नवीकरणमा समस्या देखिएको र संगठनको डिजिटल अभिलेख व्यवस्थापनसमेत प्रभावकारी हुन नसकेको उनले उल्लेख गरेका छन् ।
त्यस्तै, पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधि जनताको दैनिक जीवनसँग जोडिन नसकेको तथा किसान, मजदुर, युवा, महिला, शिक्षक र अन्य आधारभूत समुदायका मुद्दामा पार्टीको नियमित उपस्थिति कमजोर बनेको उनको विश्लेषण छ ।
‘पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधि जनताको घर, खेत, कारखाना, विद्यालय, अस्पताल, बजार, सहकारी तथा डिजिटल संसारसँग निरन्तर जोडिनुपर्छ,’ उनले भनेका छन् ।
स्थानीय निर्वाचनअघि नेतृत्व र संगठन सुधारौँ
पोखरेलले पार्टीलाई पुनः निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न शुद्धीकरण र संगठनात्मक सुधारलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले अघि सारेका दुई कार्यभार र १५ कामको योजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनको दस्तावेजमा स्थानीय निर्वाचनलाई लक्षित गर्दै पालिका, वडा र टोल तहसम्म संगठन पुनर्गठन, जनमत सर्वेक्षण, उम्मेदवार छनोट, घरदैलो र निर्वाचन परिचालनको विस्तृत कार्ययोजना पनि प्रस्तुत गरिएको छ ।
उम्मेदवार छनोटमा पहुँच, लेनदेन र गुटगत प्रभावलाई निरुत्साहित गर्नुपर्ने भन्दै उनले स्थानीय कमिटीको सिफारिस र कार्यकर्ताको भावनालाई प्रमुख आधार बनाउनुपर्ने बताएका छन् । ‘उम्मेदवार छनोटमा पहुँच, लेनदेन, गुटगत प्रभाव र अन्तिम समयको अस्वाभाविक परिवर्तनलाई निरुत्साहित गरिनेछ,’ दस्तावेजमा भनिएको छ ।
पोखरेलले एमालेको जनताको बहुदलीय जनवादलाई समेत समयअनुकूल अद्यावधिक गर्नुपर्ने प्रस्ताव गरेका छन् । कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, जलवायु संकट, युवा पलायन, सहरी असमानता र नयाँ पुस्ताका सवाललाई पार्टीको वैचारिक बहसमा समेट्नुपर्ने उनको भनाइ छ ।
समग्रमा पोखरेलको दस्तावेज निर्वाचनमा पराजयपछि पार्टीलाई पुनर्गठन गर्ने कार्ययोजनामा सीमित छैन । यसले एमालेभित्रको नेतृत्व शैली, शक्ति सन्तुलन, आन्तरिक लोकतन्त्र, अवसर वितरण र पुस्तान्तरणका समस्यालाई पनि सतहमा ल्याएको छ ।



प्रतिक्रिया