चीनले नेकपाभित्रको आन्तरिक विवादमा हस्तक्षेप गर्दैनः चिनियाँ दूतावास


काठमाडौं – चिनियाँ राजदूत होउ यान्छीको राजनीतिक भेटवार्ता सामान्य भएको दूतावासले स्पष्टिकरण दिएको छ । बिहीबार चिनियाँ दुतावासका प्रतिनिधि चाङ सिले राजदूत यान्छीको भेटवार्ता सामान्य राजनीतिक भेटघाट मात्र भएको बताएका हुन् ।

सीले चीनले नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने बताउँदै नेपालको विकासमा चीनको ध्यान रहेको बताएका छन् ।

‘नेपालको आन्तरिक मामलामा हस्तक्षेप नेताहरुलाई भेटघाट गर्ने आपसी हितका विषयमा कुरा भएको हो । नेपालको आन्तरिक राजनीतिक मामलामा चीनले हस्तक्षेप गर्दैन । चीन स्थिर नेपालको पक्षमा छ । नेपालको विकास र आर्थिक पक्षमा चीनले ध्यान दिन्छ’, काठमाडौंपाटीसँग कुरा गर्दै उनले भने ।

त्यस्तै सीले चीन नेपालमा स्थायी सरकारको पक्षमा रहेको बताएका छन् । उनले राजदूतले नेताहरूलाई भेट्नु सामान्य कूटनीतिक चलन भएको बताए । सीले अध्यक्ष पुष्पकमल दाहाल पचण्डसागको भेटवार्ता पनि सामान्य भेटघाट भएको बताए ।

‘हामी नेपालमा स्थायी सरकार र विकास भएको हेर्न चाहन्छौं’, चाङ सीले भने, ‘कुनै देशको राजदूतले नेताहरूलाई भेट्नु सामान्य कूटनीतिक चलन हो । हामी कुनै पनि देशको आन्तरिक मामला हस्तक्षेप गर्दैनौं ।’

राजदूत यान्छीले आज बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र यसअघि नेकपाका वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटेकी थिइन् । उनले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरिसकेकी छन् । राजदूतको भेटवार्ताबारे भारतीय सञ्चारमाध्यमहरुले अतिरञ्जित समाचार प्रकाशित गरेर विवादमा ल्याएका छन् ।

भारतीय मिडियाको भ्रमपूर्ण समाचारको कानुनी उपचार खोज्ने सरकारले तयारी गरिसकेको छ । यस्तै राजदूतसँगको भेटघाटबारे नेकपाका नेताहरुले कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका नेताहले विरोध गरेका पनि सत्तारुढ दलका नेता योगेश भट्टराईले नेपालीलाई नाकाबन्दी लगाएर नेपालीलाई दुःख दिने भारतभन्दा नेपालको हितमा सोच्ने चीन नै ठिक भएको बताएका थिए ।

राजदूत यान्छीले नेकपाका नेताहरुसँग भेटवार्ता गरे पनि उनले नेकपाभित्रको विवादबारे कुनै चासो नराखेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement