नेपालसहित तीन देशका नागरिकलाई प्रवेश अनुमति र कोरोना भ्याक्सिन दिन चीन सहमत


एजेन्सी – चीनले नेपालसहित तीन वटा देशका नागरिकलाई प्रवेश अनुमति दिने तयारी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनविनले पत्रकार सम्मेलनमा नेपाल, पाकिस्तान र अफगानस्थानका नागरिकलाई चीन प्रवेशमा अनुमति दिने सहमति भएको जानकारी दिए ।

सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीले आयोजना गरेको छलफलमा नेपाल, पाकिस्तान र अफगानस्तानका विदेशमन्त्री सहभागी थिए । वार्ताका क्रममा विश्वव्यापी महामाहरीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध मिलेर लड्ने सहमति भएको प्रवक्ता वाङले जानकारी दिए ।

‘हामीले निश्चित मापदण्ड पूरा गरेर मानिसहरूको अन्तरसीमा आवतजावतलाई खुला गर्नेछौँ । त्यसका लागि हामीले फास्ट ट्रयाक र ग्रीन च्यानल तय गर्नका लागि छलफल गर्ने छौँ । मन्त्रीहरुबीच चार वटा विषयमा सँगै मिलेर काम गर्ने सहमति भएको छ । कोरोना भाइरसविरुद्ध संयुक्त रूपमा लड्ने, आर्थिक तथा सामाजिक विकासका गतिविधिलाई पुनः सञ्चालन गर्ने, फास्ट ट्रयाक र ग्रीन च्यानल तय गर्नका लागि छलफल गर्ने सहमति भएको छ’, प्रवक्ता वाङले भने ।

त्यस्तै उनले चार देशले बीआरआई सहयोग जारी राख्ने कुरामा पनि सहमति भएको थियो । ‘मन्त्रीहरूले सार्वजनिक सूचना प्रसारण महत्वपूर्ण छ । कोरोना रोकथाम र नियन्त्रणमा वैज्ञानिक सहयोग आदान प्रदान गरिनुपर्छ । महामारीको बिरूद्ध लड्ने प्रक्रियामा त्यहाँ कुनै भेदभाव, कलंक, जातीयता हुन नहुने बताउनुभयो ’, उनले भने ।

त्यस्तै उनले कोरोनाको भ्याक्सिन पनि तीन वटा देशले सहज रुपमा पाउने विषयमा सहमति भएको जानकारी दिए । अब चीनले निर्माण गर्दै गरेको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल, पाकिस्तान र अफगानस्तानले सहज रुपमा पाउनेछन् ।

‘भाइरससँग संयुक्त रूपमा लड्न चीनले फलदायी परिणामहरू प्राप्त गरेको छ । हामी निरन्तर लडाई जारी राख्ने क्रममा कोरोना रोकथाम र नियन्त्रणमा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्न, जनस्वास्थ्यको रक्षा गर्न र उत्पादनको पुनः सुरुलाई बढावा दिन, सीमापार व्यापारको अविरल प्रवाहलाई सहजीकरण गर्ने सहमति भएको छ’, प्रवक्ता वाङले भने ।

त्यस्तै मन्त्रीहरुले भाइरसलाई परास्त गर्न सबैभन्दा शक्तिशाली हतियार एकता र सहयोग भएको बताएका थिए ।

‘चार देशले नीति र कार्यमा समन्वय र महामारी रोकथाम र नियन्त्रणमा आपसी सहयोग बढाउनेछ । चीन अन्य पक्षहरूसँग परीक्षण, उपचार, लागूपदार्थ र भ्याक्सिन सहयोग पुर्‍याउन र सार्वजनिक स्वास्थ्य क्षमता निर्माणमा सहयोग पुर्‍याउन तयार छ’, उनले भने, ‘चीनले एकपटक खोप विकास गरेपछि तीन देशहरूमा खोपको पहुँच बढाउन सहयोग पुर्‍याउँछ । अफगानिस्तान, पाकिस्तान र नेपालका सबै विदेश मन्त्रीहरूले यसको प्रशंसा गर्नुभएको थियो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement