राजदूत यानछीले भनिन्ः चिनियाँ रेल काठमाडौं ल्याउन सजिलो छैन


काठमाडौं – चीनले केरूङबाट काठमाडौं चिनियाँ रेल आज कुरा गरेर भोलि ल्याउन नसकिने बताएको छ ।

काठमाडौंस्थित दूतावासमा बिहीबार बिहान भएको मिडिया ब्रिफिङमा चिनियाँ राजदूत होउ यानछीले केरूङबाट काठमाडौं चिनियाँ रेल ल्याउन निकै कठिन भएकाले निकै सोचविचार गरेर अघि बढ्नु पर्ने बताइन् ।

उनले कुनै पनि आयोजना बनाउन पूर्वसम्भाव्यता, सम्भाव्यता, डिजाइन र निर्माणको स्टेप पूरा गर्नुपर्ने बताइन् ।

‘अहिले भर्खर पूर्वसम्भाव्यता अध्ययन सकिएको छ । अब यसको सम्भाव्यता अध्ययन गर्नुपर्छ । त्यसका लागि नै निकै ठूलो रकम चाहिन्छ,’ उनले भनिन् ।

चिनियाँ कम्पनी फस्ट सर्वे एण्ड डिजाइन इन्स्टिच्युटले गत वर्ष काठमाडौं–केरूङ रेलको पूर्वसम्भाव्यता गरेको थियो । उक्त अध्ययनले रसुवागढीबाट काठमाडौंको टोखासम्म ७२.२५ किलोमिटरको रेलमार्ग बनाउन ९ वर्ष लाग्ने उल्लेख गरेको थियो ।

राजदूत यानछीले अब उक्त रेलमार्गको सम्भाव्यता अध्ययन पनि चिनियाँ पक्षले नै गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

सम्भाव्यता अध्ययनको खर्च पनि चिनियाँ पक्षले व्यहोर्ने गरी छलफल भइरहेको राजदूत यानछीले बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement