चीनद्धारा सेनालाई ५ मिलियन चिनियां युआन वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण


काठमाडौं- चिनियां जनमुक्ति सेनाले नेपाली सेनालाई ५ मिलियन चिनिया युआन वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोभिड १९ संग जुझ्न उपलब्ध गराएका स्वास्थ्य सामग्रीसहित चिनियां वायु सेनाको विमान बुधवार बिहान काठमाण्डू अवतरण गरेको थियो ।

चीनियां राजदुत होउ यान्छीले बुधवार नै जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी छन् । हस्तान्तरण कार्यक्रममा प्रधानसेनापति थापाले मित्रराष्ट्र चीनले गरेको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका थिए ।

चीनले नेपाली सेनालाई कोभिड १९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने पिपिई, एन ९५ मास्क, कोरोनाभाइरसको परीक्षणमा प्रयोग हुने रसायन र अस्पतालका बेड, गगल्सलगायतका अन्य विभिन्न मेडिकल सामाग्रीहरु हस्तान्तरण गरेको सेनाले जनाएको छ । नेपाली सेनाका प्र्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले ५ मिलियन युआन बरावरको स्वास्थ्य सामाग्री चीनले नेपाली सेनालाई हस्तारण गरेको जानकारी दिए ।

चिनियां सेनाले नेपालसहित विभिन्न १२ देशका सैनिकहरूलाई पछिल्ला दुई दिनमा यस्ता सैन्य सामग्री उपलब्ध गराएको हो । चिनियां जनमुक्ति सेनाले श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानसहित १२ देशलाई विमानमार्फत स्वास्थ्य सामाग्री पठाइएको चिनियां समाचारपत्र ग्लोबल टाइम्सले जनाएको छ ।

सहयोग प्राप्त गरेका देशका सेनाको अनुरोध र चिनियां केन्द्रीय सैनिक आयोगको अनुमोदनपछि वायुसेनाको विमानले ती सामग्री हस्तान्तरण गरेको हो ।समाचारमा चिनियां जनमुक्ति सेनाले महामारी नियन्त्रणका लागि अरू देशका सैनिकहरूसंग अन्तर्राष्ट्रीय सहकार्यलाई निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको उल्लेख छ । चीनले अहिलेसम्म नेपाललाई सबैभन्दा बढी सहयोग गरेको सरकारी अधिकारीहरुको भनाई छ ।

सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएर चीनसंग खरिद गरेका स्वास्थ्य सामग्री बोकेको ४ वटा ट्रक समेत मंगलवार तातोपानी आइपुगेको छ । प्रवक्ता पाण्डले भन्सारको प्रक्रिया सुरु भइसकेको भन्दै चांडै उक्त सामाग्री काठमाडौं आईपुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement