चीनमा फैलियो रुघाखोकी जस्तो ‘रहस्यमय’ भाइरस, नेपालमा कति खतरा ?


काठमाडौं – नेपालको छिमेकी देश चीनमा केही हप्तायता रहस्यमय भाइरस फैलिएको छ, जसलाई ‘कोरोना भाइरस’ नाम दिइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित रिपोर्ट अनुसार दुई दिनभित्रै १३९ नयाँ संक्रमितको पहिचान भएको छ । राजधानी बेइजिङ, उहान र सेनजेङ क्षेत्रमा भाइरस बढी फैलिएको छ ।

श्वासप्रश्वाससँग सम्बन्धित ‘कोरोना भाइरस’बाट तीन जनाको मृत्यु पहिचान भएको चिनियाँ अधिकारीले जनाएका छन् । ब्रिटेनका विशेषज्ञ चिकित्सकहरूलाई उदृत गर्दै बीबीसीले चीनमा भाइरस व्यापक रुपमा फैलिएको र प्रभावितको संख्या थोरै मात्रै बताइएको दाबी गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीनले जतिधेरै भाइरसको जाँच गरिरहेको छ, त्यति नै संख्यामा प्रकोप फैलिएको देखिएको छ । गत डिसेम्बरमा पहिचान भएको कोरोना भाइरस चीनबाहिर अन्य देशमा समेत पुगिसकेको जनाइएको छ । थाइल्याण्ड र जापानमा समेत भाइरसको संक्रमण देखिएको बीबीसीले जनाएको छ ।

प्रयोगशाखामा जाँचपछि चिनियाँ अधिकारीले भाइरसलाई ‘कोरोना’ भनेका छन् । विगतमा कोरोना भाइरस ६ प्रकारका मात्रै पत्ता लागेपनि नयाँ भाइरस थपिएपछि कोरोना भाइरसको संख्या ७ पुगेको जनाइएको छ ।

नयाँ कोरोना भाइरस मान्छेमा संक्रमित गर्ने क्षमता राख्ने ‘सोर्स’ भाइरससँग धेरै मिल्दोजुल्दो रहेको बीबीसीको रिपोर्टमा उल्लेख छ । सोर्स कोरोना भाइरसलाई धेरै खतरनाक मानिन्छ । सन् २००२ मा सोर्स भाइरसको संक्रमण ८ हजार ९८ जनामा देखिएको थियो, जसमध्ये ७७४ जनाको मृत्यु भएको थियो ।

चीनको उहान शहरमा कोरोनाको संक्रमण बढी देखिएको छ । स्थानीय अधिकारीका अनुसार १७० जनाको उपचार चलिरहेको छ । चीनको राष्ट्रिय स्वास्थ्य परिषद्ले भाइरसलाई नियन्त्रणमा लिन सकिने जनाएको छ ।

कोरोना भाइरसका कारण संक्रमितमा सुरूमा रुघाखोकीको लक्षण देखिने गर्छ, संक्रमण बढ्दै गए मृत्यु समेत हुने गरेको छ । एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक मार्क उलहाउसले भने, ‘नयाँ भाइरस देखिएपछि हामीले यो यति खतरनाक किन छ भनेर जान्न खोज्यौं । यो सामान्य रुघाखोकी होइन, यो चिन्ताको विषय हो ।’ कोरोनाको नयाँ प्रकारको भाइरस जीवजन्तुको एक प्रजातिबाट अर्काे प्रजातिमा जाने र त्यहाँबाट मान्छेमा संक्रमित हुने विशेषज्ञहरू बताउँछन् ।

नेपालमा कति खतरा ?

चीनमा देखिएको भाइरस हङकङ र जापानसम्म पुगिसकेको सन्दर्भमा नेपालमा समेत भाइरस फैलिनसक्ने चिन्ता व्यक्त गरिएको छ । नेपालले भ्रमण वर्ष २०२० अभियान चलाइरहेका बेला चिनियाँ र विदेशी पर्यटकमार्फत भाइरस नेपालसम्म आउने खतरा रहेको विश्लेषण चिकित्सकहरूले गरेका छन् ।

भाइरसको खतराबाट जोगिन सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेको छ । डेस्कमार्फत विदेशी पर्यटकमाथि निगरानी र चेकजाँच भइरहेको स्वास्थ्य क्षेत्रका अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement