उपराष्ट्रपतिसँग चिनको कान्सु प्रान्तका गभर्नरले भने –नेपालको खानी उत्खनन्मा चीनको चासो छ


काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीनको कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार (आज) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुर भवन कान्तिपथमा उपराष्ट्रपतिसँग कान्सुका गभर्नर रेन्जियानले शिष्टाचार भेट गर्नुभएको हो । 

उपराष्ट्रपतिले गभर्नर रेन्जियानसँगको भेटमा नेपाल र चीन शताब्दीऔँ पूराना साथी भएको बताउनुभयो । उहाँले दुई देशबीच भौगोलिकमात्र नभएर सांस्कृतिक, ऐतिहासिक र भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । उहाँले नेपाल चीनबीचको सम्बन्ध घनिष्ठ रहेको र जनस्तरसम्म फैलिएको बताउनुभयो । 

भेटमा उपराष्ट्रपतिले नेपाल विकास र समृद्धिको मार्गमा अग्रसर रहेको बताउनुभयो । उहाँले नेपालको विकास र समृद्धिको यात्रामा असल छिमेकी भएको नाताले चीनको सदैव साथ सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले कृषिको आधुनिकीकरण र व्यवसायीकरण, जलविद्युत् उत्पादन वृद्धि, पर्यटनको विकास, खनिज पदार्थको उत्खनन् र पूर्वाधार निर्माण विकासको प्राथमिकतामा रहेको बताउनुभयो । 

‘हामीले नेपाललाई छोटो समयमा विकसित र समृद्ध राष्ट्र बनाउने संकल्पका साथ अगाडि बढेका छौँ’, उपराष्ट्रपतिले भन्नुभयो, ‘यसका लागि हामीले कृषि, पर्यटन, जलविद्युत्, खनिज, पूर्वाधार तथा व्यापारलाई हाम्रो समृद्धिको आधार मानेका छौँ । यी सबै क्षेत्रमा हामी चीनसँग सहकार्य चाहन्छौँ ।’

उपराष्ट्रपतिले गभर्नरसँगको भेटमा केहीं समय अघि भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण अत्यन्त सफल भएको बताउनुभयो । उहाँले नेपालले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाबाट बढी लाभ लिन खोजेको बताउनुभयो । उपराष्ट्रपतिले नेपालबाट चीनको उच्चस्तरीय भ्रमण भइरहेको बताउनुहुँदै दुवै देशबाट उच्चस्तरीय भ्रमण हुनुपर्ने बताउनुभयो । उहाँले नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेको उल्लेख गर्नुहुँदै चिनियाँ नागरिकहरुलाई भ्रमणका लागि आमन्त्रण गर्नुभयो ।

उपराष्ट्रपतिसँगको भेटमा कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले चीन र नेपालको सम्बन्ध घनिष्ठ र पूरानो भएको बताउनुभयो । उहाँले चीन र नेपालले विकासका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो । 

गभर्नर रेन्जियानले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ र सहकार्य हुने बताउनुभयो । उहाँले अर्थतन्त्र र व्यापार, यातायात र पूर्वाधार, जलविद्युत, संस्कृति र पर्यटन, कृषिको विकास र अनुभव आदन प्रदानमा सहकार्य गर्ने चीनको चाहना रहेको बताउनुभयो । उहाँले नेपालको खानी उत्खनन्मा आफूहरुको चासो रहेको बताउनुभयो ।

कान्सुका गर्भनर रेन्जियानले नेपालको कृषि व्यवसायलाई आधुनिकीकरणका लागि नमूना उत्पादनमा सहयोग गर्ने बताउनुभयो । ‘म नेपालको भ्रमण गर्दा प्रदेश ५ मा पुगेँ । त्यहाँ कृषिको आधुनिकीकरणको आवश्यकता छ । कान्सुको कृषि प्रविधि अति उच्च छ । हामी त्यसलाई यहाँ ल्याउन सक्छौँ,’ उहाँले भन्नुभयो, ‘केही महिनामा हामीले कृषिमा मोडन उत्पादन गर्न सक्छौँ ।’ 

उपराष्ट्रपतिसँगको भेटमा कान्सु प्रान्तका गभर्नर रेन्जियानसँगै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायत सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस
Advertisement