चिनियाँ विदेशमन्त्री वाङ यीले आज शीर्ष नेतासँग भेटवार्ता गर्दै


काठमाण्डु –  तीनदिने नेपाल भ्रमणका क्रममा शुक्रवार काठमाण्डु आइपुगेका चिनियां विदेशमन्त्री वाङ यी आज औपचारिक कार्यक्रममा व्यस्त रहनेछन्। विदेशमन्त्री वाङ दक्षिण एशियाली देशहरू पाकिस्तान,अफगानिस्तान र भारतको भ्रमणपछि नेपाल आएका हुन्।

विदेशमन्त्री वाङले शनिवार नेपाली समकक्षी डा. नारायण खड्काबीच द्वीपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ। परराष्ट्रमन्त्रालयका अनुसार दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच छुट्टै भेट हुनेछ।

त्यसपछि पौने ४ बजेदेखि सवा ५ बजेसम्म परराष्ट्र मन्त्रीस्तरीय वार्ता हुनेछ। जसमा मन्त्री खड्काको नेतृत्वमा परराष्ट्र सचिव भरतराज पौड्याल, गृह, भौतिक पूर्वाधार, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, पर्यटन मन्त्रालयका सचिवलगायतको टोली सहभागी हुने जनाइएको छ।

यस्तै‚ चिनियाँ प्रतिनिधि मण्डलमा विदेशमन्त्री वाङसहित नेपालका लागि चिनियाँ राजदूत होङ यान्छी, चिनियाँ विदेश मन्त्रालय, वाणिज्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन्। द्वीपक्षीय वार्तामा केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेकाे छ।

विदेशमन्त्री वाङले शनिवार साँझ पौने ६ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।वाङले आइतवार राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम छ।

चिनियाँ विदेशमन्त्री यीले नेपाललाई आर्थिक सहायता घोषणा गर्ने अपेक्षा गरिएको छ। विभिन्न १२ सम्झौतामा हस्ताक्षर हुने दाबी गरिएको छ। विदेशमन्त्री वाङको सुरक्षाका लागि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement