चिनियाँ विदेश मन्त्री वाङ यी काठमाडौंमा, स्वास्थ्य राज्यमन्त्री यादवले गरे स्वागत


काठमाडौं –चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागी काठमाडाैं आइपुगेका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै चिनियाँ विदेश मन्त्री वाङ यी आइतबार काठमाडौं आइपुगेका हुन् । मन्त्री वाङ केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका हुन्।

उनलाई स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले स्वागत गरेका थिए । वाङको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ ।

विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । ती भेटहरुमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

समकक्षी प्रदीप ज्ञवालीसँग भने चिनियाँ विदेशमन्त्री वाङको भेटवार्ता सोमबार हुने छ । परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, चीन-काठमाडौं रेलमार्ग निर्माणलगायतका विषयमा छलफल हुने एजेण्डा परराष्ट्रले तय गरेको छ ।

वाङको भ्रमण नेकपा सरकार गठन भएपछि चीनको तर्फबाट भएको उच्चस्तरीय भ्रमण हो । चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहेका वाङ यसअघि सन् २०१४ मा नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement