नेपालको स्वास्थ्य क्षेत्रमा चीनको सहयोग निरन्तर : राजदूत यान्छी


काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य क्षेत्रमा चीन सरकारको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाएकी छन् ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आज चिनियाँ मेडिकल सहयोगको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत यान्छीले आगामी दिनमा अस्पतालको स्तरोन्नति र विकासमा सहयोग गर्न चीन दृढ रहेको बताइन् ।

चीन सरकारले अस्पताल बनाउन सहयोग गरेको र त्यसपछि निरन्तर सहयोग गर्न पाएकामा खुशी प्रकट गर्दै उनले नेपाली जनतालाई अर्बुद रोगको उच्चस्तरको उपचार दिन चिनियाँ चिकित्सक समूह सँधै प्रतिबद्ध भएको बताइन् ।

अस्पताल स्थापनापछि चिनियाँ चिकित्सक समूहलाई अस्पतालका चिकित्सक कर्मचारीले गरेको सहयोग र समन्वयप्रति उनले आभार प्रकट गरिन् । सो अवसरमा राजदूत यान्छीले अस्पताललाई भिडियो एक्सरे र शल्यचिकित्सा उपकरण तथा अर्बुदरोगीलाई आवश्यक पर्ने औषधि उपलव्ध गराएकी बताइन् ।

विसं २०५७ देखि सञ्चालनमा आएको सो अस्पताल चीन सरकारले निर्माण गरेको हो । उक्त अस्पतालमा १४ चिनियाँ चिकित्सक र दुई सहयोगी रहँदै आएका छन् । उनीहरुको तलबभत्ता चीन सरकारले बेहोर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement