चीनको छेन्दु–भैरहवा सिधा उडानका लागि सहयोग गर्ने चिनियाँ राजदूतको प्रतिवद्धता


रुपन्देही – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री पोखरेल र राजदूत यान्छीबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा राजदूत यान्छीले माघीको शुभकामना दिँदै निर्माणाधिन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सिचुवानको छेन्दुबीच सिधा उडानका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् । ‘लुम्बिनी चिनियाँका लागि आउन चाहने एउटा प्रमुख ठाउँ हो’ राजदूत यान्छीले भनिन्, ‘सिचुवानको छेन्दु भैरहवा सिधा उडानका लागि सहयोग गर्न अभिप्रेरित छु,’ उनले भनिन् ।

सो भेटका क्रममा मुख्यमन्त्री पोखरेलले चीनको ठूलो अन्तर्राष्ट्रिय परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (विआरआई) अन्तर्गत केरुङ काडमाडौं–रेलमार्ग लुम्बिनी ल्याउने योजना पूरा गर्नसक्दा यो क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । पोखरेलले यो प्रदेशमा रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने योजना अघि सारेको र तीमध्ये एक चिनियाँ मोडलको औद्योगिक क्षेत्र होस् भन्ने चाहेको बताए ।

पोखरेलले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउने सोंचमा रहेको बताउँदै त्यसका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताएका थिए । त्यसैगरी, उनले प्रदेश ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको बताउँदै सिचुवानले गरेको कृषिको व्यवसायीकरण र औद्योगिक विकासको अनुभव हाम्रा लागि काम लाग्ने बताए ।

मन्त्री पोखरेलले सिचुवानका गर्भनरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा दिएको र त्यसको आवश्यक प्रबन्ध मिलाउन राजदूतलाई आग्रह गरे । राजदूत यान्छीले नेपालको विकास प्रयासमा चीन सधैं सहयोगी रहेको चर्चा गर्दै अहिले नेपाल दु्रत विकासको बाटोमा हिडेको र त्यो प्रयासमा चिनियाँ साथ रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement