चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणः के भन्छन् सुरक्षा मामलाका जानकार ?


काठमाण्डु – चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे एक दिने नेपाल भ्रमणका लागि काठमाण्डु आएका छन् । चिनियाँ राष्ट्रपति सी जिङफिङको भ्रमणपछि चीनबाट नेपालका लागि यो उच्चस्तरको पहिलो भ्रमण हो ।  चिनियां रक्षामन्त्रीले नेपाली सेनालाई सैनिक सामाग्री समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको स्रोतको दावी छ ।

उनले सेनालाई आवश्यक पर्ने सैनिक सहयोगको घोषणा गर्ने तयारी चिनियां पक्षको छ । त्यसका साथै दुवै देशका सेनाबीच यसअघि हुंदै आएको र अहिले रोकिएको सगरमाथा फ्रेण्डसिप सैन्य अभ्यासलाई सुचारु गर्ने विषयमा समेत छलफल हुनेछ ।

रक्षामन्त्रीको भ्रमणलाई केही समय अगाडि भएको भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल र विदेशसचिव हर्षवद्र्धन श्रृंगलाको नेपाल भ्रमणको विषयलाई जोडेर हेर्न थालिएको छ । तर, भारतीय गुप्तचर प्रमुख र विदेश सचिवको नेपाल भ्रमणलाई चिनियाँ रक्षामन्त्रीको भ्रमणसँग दाँज्न नमिल्ने सुरक्षा मामलाका जानकारहरु बताउँछन् ।
नेपाली सेनाका अवकासप्राप्त सहायकरथी सुरेशराज शर्माले यी दुई विषय फरक भएकाले एउटै तराजुमा हालेर जोख्न नमिल्ने बताए । रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमण चीन, अमेरिका र भारतसँग जोड्ने नमल्निे उनको तर्क छ ।

‘उहाँ नेपाल–चीन सम्बन्धको ६५ वर्ष पुगेको अवसरमा नेपाल भ्रमणमा आउनुभएको हो । यसलाई चीन–भारत अमेरिकासँग जोड्न आवश्यक छैन् । उहाँको भ्रमणका एजेण्डा पनि केही छैन् । एक दिने भ्रमणका लागि आउँदैमा आत्तिनुपर्ने अवस्था छैन् । ’ उनले भने ।

यसअघि सैनिक प्रवक्ता समेत रहिसकेका शर्माकाअनुसार चिनियां रक्षामन्त्रीको भ्रमण गत वर्ष चिनियाँ राष्ट्रपति सी जिङफिङको नेपाल भ्रमणपछिको निरन्तरता नै हो । उनले नेपाल चीन र भारतजस्ता ठूला मुलुकको बीचमा भएकाले दुई देशको सीमाका विषयमा चासो हुनु स्वभाविक भएको बताएका छन् ।

‘हामी सीमा जोडिएका मुलुक भएको हुनाले चीन र भारतको चांसो हुनु स्वभाविक हो । सीमा विवादको विषय अहिले टड्कारो रुपमा देखिँदै आएको छ । उनीहरु आ–आफ्नो उदेश्यले नेपाल भ्रमणमा आएका हुन्’, शर्माले भने, ‘चिनियाँ राष्ट्रपतिको भ्रमण, बिआरआई जस्ता विषय आएका छन् । त्यस्तै नेपाली सेनालाई सैन्य सहयोग पनि गर्ने भनिएको छ । यो उच्चस्तरको भ्रमण हो ।’

त्यस्तै उनले नेपाल–चीनबीच धेरै सम्झौताहरु कार्यान्वयनको चरणमा रहेकाले उनको भ्रमणले पनि केही महत्वपूर्ण अर्थ राख्ने बताएका छन् ।  एक दिने भ्रमणका लागि काठमाण्डु आएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता सकेर उनी आजै बंगलादेश प्रस्थान गर्नेछन् । पूर्वरथी नेपाल भुषण चन्दले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण नेपालका तत्कालिन रक्षामन्त्री ईश्वर पोखरेलको सट्टापट्टा भएको प्रतिक्रिया दिएका छन् ।

‘अहिले सत्तारुढ दलको पार्टीमा समस्या छ । उहाँसँग हामीले केही लिने विषयमा भन्दा पनि नेपालसँग सम्बन्ध बढाउन भ्रमण केन्द्रीत छ । सत्तापक्षको पनि समस्या भयो । सीमाको विषयमा समस्या भयो’, उनले भने ।

उनले भारतीय रअ प्रमुख र विदेशसचिव श्रृंगलाको भ्रमणले गर्दा चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण भयो भन्नु अर्थहिन भएको टिप्पणी गरे ।  ‘भारतियहरु आएको कारणले चिाबाट भ्रमण भएकाहोइन । नेकपाको विवादमा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता छ । चीन र नेपालको मिलिटरी तालिम एक्सेन्ज हो कि हाम्रो रक्षामन्त्रीको भ्रमणको सट्टापट्टा हो । उहाँ गएको बेला भएका सम्झौताहरुको निरन्तरता हो’, उनले भने ।

भारतको जवाहरलाल विश्वविद्यालयबाट विद्यावारीधी गरेकी सुरक्षा मामिलाकी जानकार डा. इन्द्र अधिकारीले चीन शक्ति राष्ट्र भएका कारण दक्षिण एसियामा आफ्नो प्रभाव जमाउन चाहेको बताइन् । उनले चिनियाँ रक्षामन्त्रीले नेपाल मात्र नभई एसियाका अन्य मुलुकहरुमा पनि भ्रमण जारी राखेकाले उसले आफ्नो प्रभाव जमाउन खोजेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement