राष्ट्रपतिको भ्रमणले नेपाल–चीन सम्बन्ध झनै प्रगाढ बन्योः राजदूत यान्छी


निशेष खनाल

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले २०१९ मा नेपाल –चीन सम्बन्ध फलदायी भएको प्रतिक्रिया दिएकी छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै राजदूत यान्छीले नेपाल र नेपालीको प्रशंशा गर्दै सम्पूर्ण नेपालीलाई धन्यवाद व्यक्त गरेकी छन् ।

‘गतवर्षको नेपाल सम्बन्धमा धेरै सकारात्मक रह्यो । तपाइहरुले पनि धेरै मिहिनेत गर्नुभयो । मिडियाले पनि नेपाल चीनबीचको सम्बन्धमा सकारात्मक समाचार सम्प्रेषण गरेका छन् । यसका लागि म सबैलाई धन्यवाद दिन चाहान्छु’, राजदूतले भनिन्, ‘अब दिनमा द्विपक्षीय सम्बन्धमा पनि स्वस्थ विकासको अपेक्ष गर्छौं । म नेपालको योगदानको प्रशंशा गर्छु ।’

राजदूत यान्छीले राजनीति, अर्थतन्त्र र जनता–जनताबीचको सम्बन्ध पनि राम्रो रहेको बताइन् ।

‘आर्थिक वर्ष २०१८/0१९ मा नेपालमा चिनियाँ लगानी ११ करोड ४० लाख डलरको रह्यो । बेइजिङ नेपालका लागि चौथो वर्षमा पनि सबैभन्दा ठूलो लगानीकर्ता बन्यो । २०१९ को सुरु १० वर्षको अवधिमा नेपाल चीनबीचको व्यापार १.२ अर्ब अमेरिकी डलरको भयो’, पत्रकार सम्मेलनमा उनले भनिन्, ‘यो  मापनका आधारमा १३.१ प्रतिशतले वृद्धि हो । चीनले नेपालको निर्यातमा पनि ५८.१ प्रतिशतले वृद्धि भएको छ ।’

उनले नेपालका पर्यटन, नागरिक उड्डयन, रेल, सडक, जलविद्युतमा चिनियाँ सहयोग रहेको बताइन् ।

यान्छीले हङकङका प्रदर्शनकारीले कसरी एक देश दुई व्यवस्थाको लक्ष्मण रेखा पार गरे र सिनजियाङमा अतिवादी र पृथकतावादीले सार्वजनिक र नागरिक सम्पत्तिमा क्षति पु‍र्याएको बताइन् ।

उनले नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्यामा पनि वृद्धि भएको जानकारी दिइन् ।

गणतन्त्र स्थापनापछि भण्डारीको पहिलो चीन भ्रमण

राजदूत यान्छीले नेपालमा गणतन्त्र स्थापनापछि राष्ट्रपति विद्या भण्डारीको चीन भ्रमण पहिलो भएको बताइन् । उनले प्रधानमन्त्री केपी शर्मा अ‍ोली र चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाल–चीनबीचको सम्बन्ध थप मजबुत बनेको दाबी गरिन् ।

‘नेपालमा गणतन्त्र स्थापना भएपछि राष्ट्रपति भण्डारीको भ्रमणलाई पहिलो राष्ट्रपतिको भ्रमणको रुपमा लिन सकिन्छ । सि जिङपिङको भ्रमणलाई २३ वर्षपछि पहिलो चिनियाँ उच्चस्तरिय भ्रमण मान्न सकिन्छ’, उनले भनिन्, ‘उनीहरुको यो भ्रमणलाई दुई देशबीचको सम्बन्धमा महत्वपूर्ण आयाम मान्न सकिन्छ । यो भ्रमणले नेपाललाई ल्याण्डलक नभएर ल्याण्डिङको रुपमा स्थापित गर्नका लागि सहयोग गरेको छ ।’

‘राष्ट्रपति सीको भ्रमणपछि मलाई काम अलि हलुको हुन्छ होला भन्ठानेकी थिएँ तर त्यसपछि पनि चीनबाट दुई दर्जन बढी डेलिगेसन आएका छन्,’ यान्छीले भनिन्, ‘मलाई आशा छ सन् २०२० मा नेपाल र चीनले पारस्परिक हित, आपसी सहयोग र दुबै देशका नागरिकको राम्रो जीवनस्तरका लागि हातेमालो गर्नेछन् ।’

अमेरिकी राजदूतसँग मित्रताको सम्बन्ध

राजदूत यान्छीले नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीसँगको सम्बन्ध प्रगाढ रहेको बताइन् ।

पत्रकारले नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीसँग तपाईको सम्बन्ध कस्तो छ ? भन्ने प्रश्नमा उनले आफुहरु राम्रो साथी भएको बताइन् । उनले आफूहरु एक अर्काको सहयोगी भएको बताइन् ।

‘भेरी–बबई डाइभर्सनको टनेलको उद्घाटन गर्न गएको बेला हाम्रो मित्रता गहिरिएको हो,’ उनले भनिन्, ‘वास्तवमा त्यो त्रिदेशीय सहकार्यको राम्रो उदाहरण हो, चिनियाँ ठेकेदार, नेपाली पैसा र अमेरिकी मेसिन ।

यस्तै खालको त्रिदेशीय सहकार्य चीन, भारत र नेपालबीचको टु प्लस वान मोडलमा पनि हुनुपर्ने उनले बताइन् ।

यान्छीले बेलाबेलामा राजदूत बेरीसँग आफ्नो कुराकानी भइरहने बताइन् ।

‘हामी दुई जना दुई फरक देशका हितको रक्षाका लागि यहाँ छौं तर हामी मिल्ने साथी हौं, बेलाबेलामा कुराकानी भइरहन्छ,’ उनले भनिन् ।

पक्राउ परेको चिनियाँ नागरिक तत्काल फिर्ता नहुने

उनले नेपालमा पक्राउ परेका १२० चिनियाँ नागरिक तत्काल चीन फिर्ता नहुने संकेत गरिन् ।

‘हामी नेपालमा ती चिनियाँ नागरिक रक्षा गर्छौं जो वैधानिक काम गरिरहेका छन् । पर्यटक भिसामा नेपाल आएर साइबर अपराध कर्ममा लाग्नेहरूको हामीले रक्षा गर्दैनौं,’ यान्छीले भनिन्, ‘यहाँ आएकाको अपराधले चीनमा पनि नागरिकले दुःख पाएपछि आफूसँग भएको सूचना नेपाली पक्षलाई दिएका हौं । पक्राउ परेकामाथि नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूलाई के गर्ने भन्ने अनुसन्धान सकिएपछि थाहा हुन्छ ।’

औपचारिक प्रश्नोत्तर सकिएपछि पत्रकारले उनको केही दिनअघिको फोटोसुटबारे जिज्ञासा राखे।

पत्रकारले नेपाल भ्रमणका लागि उनले गराएको फोटोसुटबारे प्रश्न राखेका थिए । उनले आफ्नी दिदीका कारण फोटो सुट गराएको दाबी गरिन् ।

‘हामी दिदीबहिनी पाटन दरबार स्क्वायरमा घुम्न गएका थियौं । दिदीको फोटो खिच्ने सोख छ । त्यहीबेला मेरो फोटो पनि खिचिदिनु भएको हो,’ यान्छीले भनिन्, ‘राम्रो लागेपछि मैले ट्वीटरमा राखें । सबैजनाको राम्रो प्रतिक्रियाले खुसी बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement