नेपालको पत्रिकाको समाचारप्रति आपत्ति जनाउँदै चीनले भन्योः चीनको राजनैतिक प्रणाली माथिको क्रुर आक्रमण


काडमाडौं – नेपालको एक दैनिक पत्रिकामा प्रकाशित समाचारप्रति नेपालस्थित चिनियाँ दूतावासले आपत्ति जनाएको छ । नेपालको संचार क्षेत्रमा अग्रणी भूमिका निर्बाह गरिरहेको अंग्रेजी पत्रिका ‘द काठमाडु पोष्ट’ मा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै दूतावासले एक विज्ञप्ति नै जारी गरेको छ ।

विज्ञप्तिमा फेब्रुअरी १८(फागुन ६)मा उक्त पत्रिकामा प्रकाशित तस्वीर र समाचारले चिनियाँ नागरिकको अपमान गरेको बताइएको छ । त्यस तस्विरमार्फत् पत्रिकाले नियतवस चिनियाँ सरकार र कोरोनाभाइरसविरुद्धको उसको संघर्षप्रति नकारात्मक सन्देश सम्प्रेषण गरेको दूतावासले बताएको छ । विज्ञपितमार्फत चीनले अझ त्यस लेखले चिनियाँ राजनीतिक प्रणालीमाथि नै क्रुर आक्रमण भएको प्रतिक्रिया दिएको छ ।

विज्ञप्तिमा गम्भीर रुपमा लिएको कोरोनाभाइरस प्रकोप नियन्त्रण गर्न चिनियाँ सरकारले हरसम्भव प्रयास गरिरहेको अवस्थामा केही पश्चिमी मिडियाले महामारीलाई राजनीतिकरण गर्दै चीनको राजनीतिक प्रणालीमाथि आक्रमण गरिरहेको भनिएको छ । र, समाचार प्रकाशित गर्ने पत्रिकाका सम्पादक सोही उद्देश्यमा लागेको आरोप दूतावासको छ ।

महामारीको समयमा आम नेपाली जनता र नेपाल सरकारको सकारात्मक धारणा रहेको र त्यसप्रति आफूहरु कृतज्ञ रहेको उल्लेख गर्दै दूतावासले पत्रिकाका प्रधान–सम्पादकको आलोचना गरेको छ ।साथै  चाइना मिडिया ग्रुपका नेपाल प्रमुख चिनियाँ नागरिक चाङ्ग युएले उक्त पत्रिकाका सम्पादकका नाममा सामाजिक सञ्जालमार्फत एक लामो पत्र लेख्दै उक्त सामग्री प्रकाशित गरिएकोमा माफि माग्न आग्रह गरेकी छन् ।

यस्तो छ वर्षाले ‘द काठमाण्डु पोष्ट’का प्रधान सम्पादकलाई लेखेको पत्र

आदरणीय सम्पादकज्यू
द काठमाडु पोष्ट
नेपालको संचार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको कान्तिपुर संचारगृहबाट प्रकाशित द काठमाडु पोष्टको यही फागुन ६ गते मंगलबार तदनुसार फेब्रुअरी १८ तारिख प्रकाशित ‘चाइना सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच ओर्स’ शीर्षकको लेखले हामी सबै चिनियाँको अपमान गरेको छ। विदेशी संचारमाध्यममा पहिले नै प्रकाशित लेख भएकाले लेखको बारेमा भन्दा पनि त्यसमा प्रकाशित फोटो आपत्तिजनक छ।
अध्यक्ष माओ चतुङलाई सम्पूर्ण चिनियाँ जनताले उच्च सम्मान र आदर गर्छन्। चिनियाँ जनबैंकले निस्काशन गरेको मुद्रामा आदरणीय अध्यक्ष माओ चतुङको फोटो राखिएको हुन्छ। तपाईंको पत्रिकाले चिनियाँ मुद्रा एक सय युआनको नोटमा अंकित अध्यक्ष माओको फोटोमा मास्क लगाएर चीनको सार्वभौमिकता र चीनप्रतिको घोर अपमान गर्नु भएको छ। यतिबेला चीन कोरोना भाइरसको संक्रमण विरुद्धको युद्धमा दत्तचित्तले लागिरहेको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सबै चिनियाँहरुले मास्क लगाउने गरेका छन्।

चिनियाँले मात्र होइन अहिले विश्वका अधिकांश भागमा मास्क लगाउनलाई विश्व स्वास्थ्य संगठनले सबैलाई अपिल गरेको छ। तपाईंलाई चिनियाँले मास्क लगाएको फोटो चाहिएको भए म दिन सक्छु। अथवा इन्टरनेटबाट जतिसुकै खोज्न सक्नुहुन्छ। आधुनिक चीनका महान नेताको अपमान गरेर पत्रिकामा प्रकाशन गर्नु नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई पनि धक्का लगाउनु हो। चीन र चिनियाँलाई घोर अपमान गर्नु हो। हामी चिनियाँहरु नेपाल र नेपालीलाई उच्च सम्मान र माया गर्छौँ।

नेपाल र नेपालीले भोगेका विपत्तिहरुमा चीन र चिनियाँले सक्तो सहयोग गरेकै छन्। कोरोना भाइरसको विद्धरुमा नेपालीहरुले पनि आआफ्नो ठाउँबाट चीन र चिनियाँलाई सहयोग र समर्थन जनाएका छन्। तर एउटा ठूलो राष्ट्रिय दैनिक पत्रिकाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई ख्याल नगरिकन यस प्रकारको फोटो अथवा स्केच प्रकाशन गरेकोमा म खेद प्रकट गर्दछु र यस प्रकारका कार्यको दृढताका साथ विरोध र प्रतिवाद गर्दछु। रोग र संक्रमणको कुनै भौगोलिक सिमा हुँदैन। रोग र विपत्तिले न त कुनै देश विशेष भन्छ न त भौगोलिक सीमा नै मान्छ।

यतिबेला पश्चिमा जगतले चीनमाथि विभेदपूर्ण सामग्री प्रकाशन गरिरहेका बेला चीनकै अशल छिमेकी देश नेपालका सचारमाध्यम पनि पश्चिमा संचारजगतको लहैलहैमा लागेर चीनमाथि हिलो छ्याप्ने र लान्छना लगाउने कार्य चीन र चिनियाँ जनताका लागि कदापि स्वीकार्य छैन। आशा छ नेपाली पत्रपत्रिका र संचार माध्यमले चीनसँगको मैत्री सम्बन्धलाई ख्याल गर्नेछन्। अनि कोरोना भाइरसका विरुद्ध लड्नलाई साथ दिनेछन्। धन्यवाद।

प्रतिक्रिया दिनुहोस
Advertisement