नेपाल भ्रमणमा आउंदै चिनियां विदेशमन्त्री वाङ


काठमाण्डु– चिनियां विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् । अमेरिकी विकास सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन भएसंगै वाङ नेपालको उच्चस्तरिय भ्रमणका क्रममा काठमाण्डु आउंन लागेका हुन् । उनको भ्रमणबारे चिनियां पक्षले परराष्ट्रमन्त्रालयलाई जानकारी गराइसकेको छ । विदेशमन्त्री वाङको चैत्र दोस्रो साता नेपाल आउने तयारी छ ।

उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपनि विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालगायतसंग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री नारायण खड्काले सोमबार परराष्ट्रमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने जानकारी दिएका थिए ।

खड्काले कुन तहको भ्रमण हुने हो भन्ने बारे भने कुनै जानकारी दिएका थिएनन् । उनले समय आएपछी मात्रै भ्रमणबारे जानकारी गराउने बताएका थिए ।

चीनले एमसीसीलाई संसदबाट पारित नगर्न दबाव दिएको थियो । उसले एमसीसीलाई आफ्नो सुरक्षासंग जोडेर नेपाली नेताहरुलाई यसलाई सदनबाट अनुमोदन नगर्न आग्रह गर्दै आएको थियो । चिनियां विदेशमन्त्रालयका प्रवक्ताले समेत अमेरिकाले नेपालमा जर्वजस्ती कुटनीति गरेको आरोप लगाएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानामन्त्री नियुक्त भएपछी चीनबाट हुन लागेको यो उच्चस्तरिय भ्रमण हो । अमेरिका,भारत र बेलायतमा राजदूत नियुक्त गरेको तर, चीनमा नेपाली राजदूत नियुक्त नगरेको भन्दै चीनले त्यसमा असन्तुष्टि जनाएको बताइन्छ । त्यसका साथै देउवा नेतृत्वको सरकारले सीमा विवाद समेत झिकेको भन्दै चीन पछिल्लो समय असन्तुष्ट बनेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement