चिनियां कम्युनिष्ट पार्टीका नेताले गरे एमाले अध्यक्ष ओली र समाजवादीका अध्यक्ष नेपालसंग छलफल


काठमाण्डु – नेपालमा एमसीसी सम्झौंतालाई संसदबाट पारित गर्ने बारेमा बिवाद भइरहेका बेला चिनियां कम्युनिष्ट पार्टीका नेताहरुले नेपाली नेताहरुसंग छलफल गरेका छन् । चिनियां कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख सोंग ताओले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गरेका छन् ।

एमाले अध्यक्ष ओलीसंग ताओले बुधबार भिडियो कल मार्फत वार्ता गरेका हुन । त्यस्तै चिनियां उपमन्त्री चेन झाओले बुधबार नै नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग छलफल गरेका छन् ।


नेपालसंगको छलफलमा झाओले दुई देशको सम्बन्ध मजबूत रहेको भन्दै सधैझै नेपाली जनताको विकासको बाटो रोज्न संधै चीनले सहयोग गर्ने बताएका थिए । उनले दुई कम्युनिष्ट पार्टी र देशको शासन संचालनमा अनुभवको आदान प्रदान गर्नुपर्ने धारणा राख्दै बेल्ट एण्ड रोडअन्र्तगत विभिन्न क्षेत्रहरुमा सहकार्य गर्न चीन इच्छुक रहेको बताएका थिए ।

उनले एमसीसीमा समेत चांसो व्यक्त गरेका थिए । एकिकृत समाजवादीका अध्यक्ष नेपालले एक चीन नीतिप्रति आफु प्रतिवद्ध रहेको भन्दै कुनै पनि शक्तिलाई नेपाली भूमि प्रयोग गरी चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता जनाएका थिए ।

एमसीसी संसदबाट पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा बिवाद छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्ने पक्षमा छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समाजवादीका अध्यक्ष नेपाल एमसीसी संशोधन विना पारित नगर्ने पक्षमा छन् ।

चीनले अमेरिकाले नेपालमा बलजफ्ती कूटनीति गरेको आरोप लगाउंदै आएको छ । अमेरिकाले चीनले एमसीसी रोक्न भूमिका खेलेको बताउंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement