नेपालको स्वतन्त्रता, विकास र समृद्धिमा चीनको सदैव समर्थन -नवनियुक्त चिनियाँ राजदूत


काठमाडौं-  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत याङछीले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नु भएको हो । भेटमा चीनका उपराष्ट्रपतिले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाउनुभएको शुभकामना सन्देश राजदूत याङछीले उपराष्ट्रपतिलाई हस्तान्तरण गर्नुभयो ।

भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध औपचारिक रुपमा सन् १९५५ मा स्थापित भए पनि निकै लामो सम्बन्ध रहेको बताउनुभयो । उहाँले दुईदेशबीचको सम्बन्ध जनस्तरसम्म फैलिएको र अत्यन्त प्रगाढ रहेको बताउनुभयो । उहाँले नेपालका लागि चीनका नयाँ राजदूत याङछीको कार्यकालमा दुईदेशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । 

उपराष्ट्रतिले नेपाल एक चिन नीति प्रति प्रतिबद्ध रहेको बताउनुभयो । ‘एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ,’ उहाँले भन्नुभयो, ‘चीनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई समर्थन गरेको छ । नेपाल पनि आफ्नो भूमीमा चीन विरोधी क्रियाकलाप हुन दिने छैन ।’

उपराष्ट्रतिले नेपालले राजनीतिक स्थायित्व हासिल गरेर विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको बताउनुभयो । उहाँले नेपालको समृद्धिमा चीनको साथ सहयोग रहनेमा विश्वस्त रहेको बताउनुभयो । उपराष्ट्रपतिले नेपाल चीनसँग छिट्टै रेलमार्गबाट जोडिन चाहेको बताउनुभयो । 

‘हामी चीनबाट प्रविधिको आयात गर्न चाहन्छौँ । रेलवेद्वारा जोडिन चाहन्छौँ’, उहाँले भन्नुभयो, ‘हामी कम्तिमा ७ वटा उत्तर दक्षिण राजमार्गद्वारा चीनसित जोडिन चाहन्छौँ । हामी विकासको लागि भौतिक पूर्वाधारहरु निर्माण गर्न चाहन्छौँ ।’

उपराष्ट्रपतिले सन् २०१९ मा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराउनुहुँदै चिनियाँ लगानीकर्ताहरु नेपाल आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउनुहुँदै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणका लागि चीन सरकारले प्रोत्साहन गरिदिनुपर्ने बताउनुभयो ।

‘२०१९ मा हामीले अन्तराष्ट्रिय लगानी सम्मेलनको आयोजना गरेका छौँ । चीनबाट गतिला लगानीकर्ताहरु आएको हेर्न चाहन्छौँ’, उहाँले भन्नुभयो, ‘२०२० नेपाल भ्रमण वर्ष हो । यसलाई सफल पार्न धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणको निम्ति चीन सरकारले प्रोत्साहन गरिदिनु पर्यो ।’

उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि चीनका राजदूत याङछीले चीन र नेपालको सम्बन्ध अत्यन्त घनिष्ठ रहेको बताउनुभयो । उहाँले आफू नेपाल आएको छोटो समयमै नेपालले चीनलाई उच्च प्राथमिकतामा राखेको पाएको बताउनुभयो । 

‘नेपाल आएको दश दिनभित्र मैले उच्च नेतृत्वसँग भेटघाट गर्न पाएँ । अरु देशमा यति सहज हुँदैन’, उहाँले भन्नुभयो, ‘हामी कति घनिष्ठ छौँ भन्ने यसले देखाउँछ ।’

राजदूत याङछीले अग्रजहरुले स्थापना गरेका दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने आफ्नो निरन्तर प्रयास हुने बताउनुभयो । उहाँले नेपालको स्वतन्त्रता, विकास र समृद्धिमा चीनको सदैव समर्थन र साथ सहयोग हुने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध विस्तारका साथै नेपालको विकास र समृद्धिमा सकेको योगदान गर्ने समेत बताउनुभयो ।

उहाँले नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउनुभयो । नेपाल सांस्कृतिक रुपमा विश्व सम्पदामा सुचीकृत रहेको, वुद्धको जन्मस्थल यहीं रहेको र संसारको सर्वोच्च शिखर सगरमाथा यहीं रहेकाले नेपाल उत्कृष्ट पर्यटन गन्तव्य भएको बताउनुभयो । 

राजदूत याङछीले आफ्नो कार्यकालमा दुईदेशबीचको हवाई उडान थप गर्न चाहेको बताउनुभयो । उहाँे चीनमा विकास भईरहेको प्रविधिले नेपालको विकासलाई सघाउ पुग्ने बताउनुभयो । ‘केही वर्षयता चीनमा नयाँ प्रविधिहरुको विकास भैरहेका छन् । माओले भन्नु भएको छ, मानिसको क्षमता भगवानको भन्दा बढि हुन सक्दछ’, उहाँले भन्नुभयो, ‘अब हामीबीच प्रविधि र तालिमको आदानप्रदान, युवाहरुको आदानप्रदान हुनुपर्दछ । यो मेरो कार्यकालको लक्ष्य हो ।’ 

प्रतिक्रिया दिनुहोस
Advertisement