उपचाररत नेता पुन भेट्न अस्पताल पुगे चिनियाँ उपमन्त्री


काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा विदेश विभागका उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ । चीनको सेनजेनमा उपचार गराइरहेका नेता पुनसँग उपमन्त्री झाओले अस्पताल पुगेर भेटवार्ता गरेका हुन् ।

नेता पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परामर्शमा उपमन्त्री झाओसँग भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल भएको नेता पुनले बताए ।

‘उहाँहरुले माओवादीको आठौं राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना दिनुभयो, चिनियाँ कम्युनिस्ट पार्टी र नेकपा माओवादी केन्द्र सवैभन्दा नजिकका मित्र भएकाले आगामी दिनमा यो सम्बन्ध अझ बलियो बनाउने कुरा गर्नुभयो,’ नेता पुनले भने, ‘नेपालको समसामयिक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल, तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राख्नुभयो ।’

चिनियाँ पक्षले नेपालका बामदलहरु एक भएर अघि बढून् भन्ने शुभेच्छा व्यक्त गरेको नेता पुनले जानकारी दिए । उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्ताका क्रममा पूर्व सभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागि भएकी थिइन् ।

उपमन्त्री झाओले नेपाल मामिला पनि हेर्दै आएका छन् । उनले नेपालका कम्युनिष्ट पार्टीलाई मिलाउन महत्वपूर्ण भूमिकासमेत निर्वाह गर्दै आइरहेका छन् ।

बंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगको सुरुमा बैंककमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि पुन चीन पुगेका हुन् । उपचार जारी रहेकै कारण उनी पार्टीको जारी ८औं महाधिवेशनमा पनि सहभागी भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement