अख्तियारले २ लाख घुससहित पक्राउ गरेका मालपोतका सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारले २ लाख घुससहित पक्राउ गरेका मालपोतका सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मालपोत कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नायव सुब्बा ओमबहादुर खाम्चाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गाको नामसारी गरिदिएबापत सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि अख्तियारले आईतबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको हो ।

नासु खाम्चाले जीर्ण श्रेस्ता कायम गर्ने तथा अपुताली जग्गा नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो । उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अनुसन्धानका क्रममा खाम्चाले सेवाग्राहीसँग घुस माग गरी मोलमोलाई गरेको र २ लाख रुपैयाँ बुझेको तथ्य पुष्टि भएको छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा चलाइएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम कैद सजायको मागदाबी गरेको छ ।