भत्ताको सूचीमा मृत्यु भइसकेकाको पनि नाम भेटिएपछि अख्तियारको छापा


नुवाकोट–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति नुवाकोटमा छापा मारेको छ।

सामाजिक सुरक्षा भत्ताको सूचीमा मृत्यु भइसकेका र हुुँदै नभएका व्यक्तिको नाममा रकम निकासा भएको सार्वजनिक भएपछि अख्तियारले बुधबार छापा मारेर सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी सक्कल कागजात जफत गरेको हो।

आव २०६८-०६९ देखि चालु आव २०७४-०७५सम्मको सामाजिक सुरक्षा भत्ताको कागज नियन्त्रणमा लिएर कारबाहीको लागि अनुसन्धान शुरु गरेको अख्तियारका शाखा अधिकृत कृष्णबहादुर दाहालले जानकारी दिए।

अख्तियारले आव २०६८-६९ देखि २०७३-७४ सम्मको फाइल जिससबाट र चालु आव २०७४÷०७५ को फाइल बेलकोटगढी नगरपालिकाबाट मगाउन लगाएर नियन्त्रणमा लिएको जनाएको छ। कुमरीलगायतका केही स्थानमा वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता मृत्यु भइसकेका र हुँदै नभएका व्यक्तिलाई समेत कीर्ते कागज खडा गरी रकम निकासा भएको भन्दै सरोकारवालाले सूचना बाहिर ल्याएपछि अख्तियारले सक्रियता देखाएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement