काठमाण्डु- बिटुमिनको मूल्य बढेपछि सरकारले सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउने भएको छ। तुलनात्मक रूपमा सस्तो मानिने प्रविधिमै बुटुमिनको मूल्य बढेर लागत बढेपछि अब सरकारले सिमेन्टकै प्रयोग बढाउने भएको छ।
सिमेन्टको प्रयोग बढाउनका लागि पूरानाभन्दा नयाँ सडक आयोजना लक्षित गर्ने तयारी सरकारको छ। तत्कालका लागिभन्दा पनि दीर्घकालमा नेपाली सिमेन्ट उद्योगलाई फाइदा पुग्नेछ।
यसबाट बिटुमन लगायतका सामग्रीको आयातमा कमी आउने तथा तत्कालका लागि कंक्रिट सडकको प्रविधिमा लगानी गर्नुपर्ने अवस्था हुनेछ। यसबाट सिमेन्ट उत्पादन बढ्नेछ।
नेपालमा सडक निर्माण गर्दा सिमेन्टको प्रयोग बढाउनुपर्छ भनेर विगत लामो समयदेखि सिमेन्ट उत्पादकहरूले माग गर्दै आएका छन्। तर सुरुवाति लागत बढी हुने तथा प्रविधिको तयारी नभएको भन्दै सरकार पन्छिंदै आएको थियो।
भिरालो तथा मोडहरूमामात्र सिमेन्टको प्रयोग हुँदै आएको छ। तर अब भने सरकारले ठूलै परियोजनामा सिमेन्टको प्रयोग गर्ने भएको तयारीमा छ।
यदि यो निर्णय कार्यान्वयन भएमा सिमेन्टको खपत बढ्नेछ। जसका कारण स्वदेशी सिमेन्ट उद्योगको उत्पादन तथा नाफा पनि बढ्नेछ। पछिल्लो समय सार्वजनिक निर्माण खुम्चिँदा सिमेन्ट उद्योगले संकट बेहोरेका छन्।
सिमेन्टको उत्पादन पूरै स्वदेशी कच्चा पदार्थमा हुँदै आएको छ। यसबाट स्वदेशी उद्योग बलिया हुने विश्वास सरकारको छ।
यसका लागि सरकारले सडक आयोजनाको अनुमान लागत तथा तयारीकै अवस्थामा समेट्नु पर्ने आवश्यक छ। थप प्रविधिका लागि निर्माण व्यवसायीलाई पनि सहुलियत दिनुपर्ने अवस्था रहेको छ।
भौतिक पूर्वाधार तथा अर्थमन्त्रीले पनि पछिल्लो समय व्यवसायीसँगको भेटमा यस्तो तयारीका बारेमा बताएका छन्। उनीहरूले निर्माण व्यवसायीहरूलाई आफ्नो तर्फबाट तयार रहन पनि बताउँदै आएका छन्। माग तथा खपत बढेमा सिमेन्टको मूल्य पनि घट्ने उद्योगीहरूकोभनाइ छ ।




प्रतिक्रिया