नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको निष्कर्ष


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेकी छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको आज १५ दिन पुगेको छ । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो ।

आज राति १२ बजेसम्म उक्त विधेयक प्रमाणीकरण गर्ने समय छ । राष्ट्रपति भण्डारीले आफूले केही विषयमा सच्याउनुपर्ने सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाए पनि गठबन्धन सरकारले बेवास्ता गर्दै जस्ताको तस्तै उक्त विधेयक आफूसमक्ष पठाएकाले प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेकी हुन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाले भने एक अक्षर पनि संशोधन नगरी विधेयक हुबहु पारित गरी फेरि पठाएकाले उक्त विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति भण्डारीको योजना रहेको स्रोतको दावी छ । स्रोतका अनुसार उनले विधेयक ‘होल्ड’ मा राख्ने मनस्थिति बनाएकी छिन् ।

यसैबीच आज बसेको सत्ता गठबन्धनको बैठकले पनि राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न नसक्ने ठहर गरेको छ । यदि आज राति १२ बजेसम्म उक्त विधेयक प्रमाणीकरण नभए के गर्नेबारे पनि छलफल भएको गठबन्धनका नेताहरुको दावी छ ।

यसभन्दा अघि राष्ट्रपति भण्डारीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गरेकी थिइन । 

प्रतिक्रिया दिनुहोस
Advertisement