गठबन्धनमा नागरिकता विधेयकको जस लिने होडबाजी, विरोधमा उत्रियो एमाले


काठमाण्डु- सरकारले शुक्रबार संसदबाट नागरिकता ऐनको संशोधन विधेयक पारित गरेको छ । लामो समयको कसरतपछि गत शुक्रबार नागरिकता विधेयक पारित हुने वित्तिकै गठबन्धन दलहरुमा त्यसको जस लिने होडवाजी चलेको छ ।

तल्लो सदनबाट बहुमतले पारित भएको यो विधेयक माथिल्लो सदन अर्थात् राष्ट्रियसभाबाट पारित भएपछि कानुन बन्नेछ । गठबन्धनमा आवद्ध दलहरुले विधेयक पारित भएको जस आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरिरहेका छन्।

नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरुले पनि आ–आफ्नो दावी छाडेका छैनन् । काँग्रेसका नेताहरुले आफ्नो दल नेतृत्वको सरकार नभएको भए नागरिकता विधेयक पारित नहुने दावी गरिरहेका छन् ।

कांग्रेसकै कारण उक्त विधेयक पारित भएको कांग्रेस नेताहरु बताउँछन् । यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरितकता विधेयक पारित गर्न आफूले महत्तवपुर्ण भुमिका खेलको बताएका छन् । शनिबार सर्लाही पुगेका नेकपा प्रचण्डले नागरिकताको समस्या समाधान गर्ने आफ्नो प्रतिबद्धता पूरा गरेको दावी गरे ।

‘मैले यही मधेश प्रदेशमा आएर केही महिना पहिले तराई मधेशको यो नागरिकता समस्या आउने सदनमा हरहालतमा समाधान गरिनेछ भनेर विश्वास दिलाएको थिएँ। माओवादी केन्द्रले हिजो जे तपाईंहरूको अगाडि प्रतिबद्धता व्यक्त गरेको थियो, त्यो प्रतिबद्धता हिजोबाट पूरा गरिएको छ।’, उनले भने ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पनि नागरिकता विधेयक आफ्नो पार्टीले गरेको संघर्षका कारण पारित भएको बताएको छ ।

पार्टीका केन्द्रीय सदस्य एवं वनमन्त्री प्रदीप यादवले आफूहरुले पटक–पटक सडकदेखि सदनसम्म उठाएको आवाज प्रतिनिधिसभाले सुनेको दावी गरे ।

‘मैले पटक-पटक सडकदेखि सदनसम्म उठाएको आवाज प्रतिनिधिसभाले सुनेको छ। जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिलाउन सफल भएकोमा जसपाका अध्यक्ष उपेन्द्र यादव, प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई हार्दिक बधाई छ,’, उनले भने ।

नागरिकता विधेयकको विरोधमा एमालेले प्रदर्शन गर्ने

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नागरिकता विधेयकको विरोधमो प्रदर्शन गर्ने भएको छ । नेकपा एमालेले नागरिकता विधेयक मुलुकको हितमा नभएको निष्कर्ष निकाल्दै उक्त विधेयकको विरोधमा प्रदर्शन गर्ने तयारी गरेको हो ।

एमाले महासचिव शंकर पोखरेलले यही साउन १६ गते सो विधेयकको विरुद्ध प्रदर्शनको गर्ने बताए । उनले सत्ता र गठबन्धन टिकाउनका लागि सत्तारुढ दलहरूले नागरिकता विधेयक संसदबाट पारित गराएको आरोपसमेत लगाए ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतवार प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, ‘यो सरकारको नलायकीपन हो । सत्ता र गठबन्धन टिकाउने गरिएको सम्झौता हो नेपाली चेलीहरूले जुन अधिकार भारतबाट प्राप्त गरेका छन्, त्योभन्दा बढी सुविधा दिने कुरा उचित हैन । नागरिकता विधेयकविरुद्ध यही साउन १६ गते हामीले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement