भारतमा सीजेपीको आन्दोलन फिर्ता, प्रदर्शनकारीलाई तुरुन्तै घर फर्किन अनुरोध

भारतमा सीजेपीको आन्दोलन फिर्ता, प्रदर्शनकारीलाई तुरुन्तै घर फर्किन अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतका संघीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्री पदबाट राजीनामा दिएपछि आन्दोलनरत कक्रोच जनता पार्टी (सीजेपी) ले शनिबार आन्दोलन फिर्ता लिएको छ ।

सीजेपीले सरकारबाट अन्य मागहरू पनि समाधान गर्ने सरकारले आश्वासन दिएपछि जन्तर मन्तरमा ३७ दिनदेखि चलिरहेको आन्दोलन फिर्ता लिएको हो ।

राजधानीको संविधान क्लबमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सीजेपीका मुख्य प्रवक्ता सौरव दासले भने, ‘सहमति भएका शर्तहरू सहमति भएका समयसीमाभित्र कार्यान्वयन हुनेछन् भन्ने बुझाइका साथ सीजेपीले सद्भावनामा आन्दोलन फिर्ता लिन्छ ।’

संविधान क्लबमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँगको तेस्रो चरणको वार्तापछि सीजेपीले भनेको छ, ‘केन्द्रीय सरकारले आत्महत्या गरेका नीट परीक्षाका आकांक्षीहरूका परिवारलाई उपयुक्त क्षतिपूर्ति दिने सहमति जनाएको छ र भारतभरका प्रदर्शनकारीहरूविरुद्ध दर्ता भएका मुद्दा (एफआईआर) फिर्ता लिने आश्वासन दिएको छ ।’

सीजेपीले सरकारसमक्ष ५ बुँदे मागपत्र प्रस्तुत गरेको छ र ४ हप्तापछि अर्को चरणको वार्ता गर्नेछ । प्रवक्ता आशुतोष रांकाले भने, ‘हामीले नीट परीक्षामा पीडित परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्ति मागेका थियौँ । सरकारले यसमा सहमति जनाएको छ र भनेको छ कि नियम र विनियमअनुसार ती परिवारलाई सम्मानजनक क्षतिपूर्ति दिइनेछ ।’

उनले भने, ‘यसबाहेक हामीले सरकारसमक्ष ५ बुँदे मागपत्र पनि राखेका थियौं, जसमा व्यापक शैक्षिक सुधार र परीक्षा सुधारको कुरा थियो । त्यो मागपत्रका बारेमा हामी करिब ४ हप्तापछि फेरि सरकारसँग भेट्नेछौं । ताकि व्यापक सुधारमा सँगै काम गर्न सकियोस् । यदि यी सबै माग सरकारलाई स्वीकार्य भएपछि हामी आन्दोलन पनि फिर्ता लिनेछौँ । हाम्रा सबै माग स्वीकारिएका छन्, त्यसैले हामी प्रदर्शनकारीहरूलाई तुरुन्तै आन्दोलन फिर्ता लिएर शान्तिपूर्वक घर फर्किने अनुरोध गर्दछौँ । हामी भविष्यको रणनीति वा अन्य मुद्दाहरूबारे जानकारी दिनेछौँ । तर हामी प्रदर्शनकारीहरूलाई आन्दोलनबाट तुरुन्तै फिर्ता हुन अनुरोध गर्दछौँ ।’