सिके राउतले बोलाए स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक


काठमाडौं – सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक बस्ने भएको छ । गत शुक्रबार मात्रै सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरी मूलधारको राजनीतिमा फर्किएका राउतले यही चैत ४ र ५ गते गठबन्धनको राष्ट्रिय परिषद् बैठक बोलाएका हुन् ।

गठबन्धनले सरकारसँग गरेको सम्झौतालाई ऐतिहासिक सफलता र विजय भएको बताउँदै यसपछिको रणनीति तय गर्न बैठक डाकेको जनाएको छ।  राष्ट्रिय परिषद् बैठकमा सामेल हुने सबै पार्टी सदस्यलाई चैत ४ गते सोमबार बिहान ७ बजे भित्रै कार्यक्रम स्थलमा आउन सूचित गरिएको छ।

सरकारसँग सहमति गरेको दोस्रो दिनमै गृहनगर जनकपुर पुगेका राउतको गठबन्धनका नेताकार्यकर्ताले भव्य स्वागत गरेका थिए। सो क्रममा पुरानै शैलिमा ’स्वतन्त्र मधेश’ लेखिएका ब्यानर तथा नारा गुञ्जिएको भन्दै राउतले सरकारलाई झुक्याएको र पुरानै अवस्थामा रहेको भनि टिप्पणी भएको थियो।

सरकारसँग सहमति भएपछि पनि स्वतन्त्र मधेसको नारा उनका कार्यकर्ताले लगाएको भन्दै सर्वत्र आलोचना भइरहेकै बेलामा राउतले आफ्नो संगठनको बैठक डाकेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement