नेकपा अध्यक्ष प्रचण्ड शनिवार चीन जांदै, उपराष्ट्रपतिसंगको भेटघाट तय


काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा जाने भएका छन् । चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा प्रचण्ड शनिवार चीन जाने कार्यक्रम तय भएको छ । प्रचण्ड गत साता मात्र भारतको साताव्यापी भ्रमणबाट स्वदेश फर्केका थिए । भारत भ्रमणको क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च अधिकारीसंग भेटवार्ता गरेका थिए । प्रचण्डको यसअघि सेप्टेम्बर १७ मा चीन जाने तय भएपनि उनि शनिवार नै चीन जान लागेका हुन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डको चीन भ्रमण निजी भ्रमण भएको बुझिएको छ । प्रचण्डसंगै भ्रमणदलमा पत्नी सिता दाहाल, उनकी स्वकिय सचिव समेत रहेकी छोरी गंगा दाहाल र एक जना सहयोगी सहभागी हुनेछन् । उच्च स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले चीन भ्रमणका क्रममा चिनिया उपराष्ट्रपति ली युनचाओसंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागका उच्च अधिकारीसंग पनि छलफल गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपति ली चिनिया राष्ट्रपति सि जिनपिङका सबैभन्दा विश्वासिला नेता मानिन्छन् । चिनियां राष्ट्रपति सी रसिया भ्रमणमा रहेकै बेला अध्यक्ष प्रचण्डको चीन भ्रमण हुन लागेको हो । सी स्वदेश फर्केलगत्तै भेटवार्ताको टुंगो लाग्ने स्रोतको दाबी छ । प्रचण्ड परिवारसहित चीनको नानजिङ र ऐनान जाने कार्यक्रम समेत तय भएको छ ।

माओवादी केन्द्र र एमालेबीचको पार्टी एकतापछि हुन लागेको प्रचण्डको यो पहिलो चीन भ्रमण हो । उनले दुई पार्टीको एकतापछि बनेको नेकपाको सरकारको सम्बन्ध सुदृढ गर्नको लागी दुवै छिमेकी मुलुकको भ्रमणमा आफु जाने यसअघि नै बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement