प्रधानसेनापति शर्माको भारत भ्रमण : यस्ता छन् छलफलका एजेण्डा


नयां दिल्ली – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अर्को हप्ता भारत भ्रमणको क्रममा नयां दिल्ली आउंदैछन् । सेनापति शर्मा भारतले प्रदान गर्ने मानार्थ प्रधानसेनापतिको सम्मान ग्रहण गर्न भारत आउन लागेका हुन ।

शर्माले भारतिय राष्ट्रपति रामनाथ कोविन्दको हातबाट दज्र्यान्ही चिन्ह लगाउने कार्यक्रम छ । नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहंदै छ । भारतबाट नेशनल डिफेन्स कोर्स(एनडीसी) गरेका शर्मा भारतीय सेनाको मानार्थ प्रधानसेनापति समेत हुन ।

नेपाली सेनाका १४ जना प्रधानसेनापति भारतीय सेनाको मानार्थ महारथी र भारतीय सेनाका १८ जना सेनाध्यक्षले नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाइसकेका छन् ।

सेनापति शर्माले भारत भ्रमणका क्रममा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस.जयशंकर, रक्षामन्त्री राजनाथ सिंह, सिडिएस विपिन रावत, रक्षासचिव अजय कुमार र समकक्षी मुकुन्द नरवणेसहित हवाई र जलसेनाका प्रमुखसंग भेटवार्ता गर्ने तय भएको छ । उनले भारत भ्रमणका क्रममा सिडिएस रावत र समकक्षी नरवणेलाई नेपाल भ्रमणको निम्तो औपचारिक रुपमा हस्तान्तरण गर्ने तयारी छ ।

उनको भारत भ्रमणका क्रममा भारतले सैन्य सहयोग प्रदान गर्ने सम्भावना रहेको स्रोतको दावी छ । शर्माको भ्रमणको क्रममा द्धिपक्षीय सुरक्षा हितका बारेमा छलफल हुनुको साथै क्षेत्रीय मुद्दामा गर्न सकिने सहकार्यको क्षेत्रमा समेत छलफल हुनेछ ।

त्यसैगरी दुवै देशका सेनाबीच तालिम र रक्षासम्बन्धी सहयोगका बारेमा पनि छलफल गर्ने ऐजेण्डा रहेको स्रोतको दावी छ ।

साथै भारतिय सेनाले नेपाली सेनालाई थप १ लाख भ्याक्सिन सहयोग उपलब्ध गराउने समझदारीमा हस्ताक्षर समेत हुनेछ । नेपाली सेनालाई बख्तरबन्द गाडी र ट्रक समेत सहयोग गर्ने भारतिय पक्षको तयारी छ ।

भारतिय सेनाले यसअघि नेपाली सेनालाई दिंदै आएको नेशनल डिफेन्स कोर्स(एनडिसी) को कोटा समेत यसपटकबाट बढाउने तयारी गरेको छ । यसअघि भारतिय सेनाले नेपाली सेनालाई दुई वटा कोटा प्रदान गर्दै आएको थियो ।

भारतिय सेनाले २०१८ देखी २ वटा कोटा प्रदान गर्दै आएकोमा अस्थायी रुपमा अहिले ३ वटा कोटा प्रदान गर्दै आएको छ । तर,यस पटक प्रधानसेनापतिको भ्रमणमा थप दुई कोटा गरेर हरेक वर्ष ४ वटा कोटा उपलब्ध गराउने भारतिय पक्षको तयारी रहेको स्रोतले बतायो ।

नेपाली सेनालाई चीनले सबैभन्दा बढी एनडीसीको कोटा प्रदान गर्दै आएकोमा कोरोना भाइरसको महामारीपछि भने बन्द भएको छ । चीनले यसअघि सेनालाई भारत,अमेरिका र बेलायतभन्दा बढी वर्षेनी चार वटा कोटा प्रदान गर्दै आएको थियो ।

सेनालाई भारतले दुई,अमेरिकाले दुई र बेलायतले एक जनाको कोटा प्रदान गर्दै आएको थियो । पछिल्लो समय अफ्रिकन मुलुकहरुमा समेत सेनाका उच्च अधिकारीहरले एनडीसी कोर्स गर्दै आएका छन् ।

सेनामा सहायकरथीबाट उपरथीमा बढुवा हुन एनडीसी कोर्स अनिवार्य गरेको हुनुपर्ने प्रावधान छ । सेनाले नेशनल डिफेन्स युनिभर्सीटी खोल्ने निर्णय गरेपनि संरचना र कोर्स भने अझै बनिसकेको छैन ।

प्रधानसेनापतिको नेतृत्वमा ७ जनाको भ्रमण दल भारत आउंदैछ । भ्रमण दलमा युद्धकार्य निर्देशक समेत रहेका उपरथी निर्मल थापा र उनका सैनिक सहायक सहायकरथी चोकबहादुर ढकाल समेत सहभागी हुनेछन् ।

प्रधानसेनापति शर्माले एनडीसी कोर्स गरेको नेशनल डिफेन्स युनिभर्सिटी (एनडियु) मा सम्बोधन गर्ने कार्यक्रम रहेपनि यसपटक दिल्ली बाहिर भने जाने कार्यक्रम तय भएको छैन ।

यसअघिका प्रधानसेनापतिहरु भारत भ्रमणमा आउंदा भारतिय सेनाको डिभिजन कमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम तय हुने गरेपनि शर्माको तीन दिने भारत भ्रमण भने दिल्लीमा हुने औपचारिक कार्यक्रम र भेटघाटमा वित्नेछ ।

मन्त्रिपरिषद्को गत बुधबार बसेको बैठकले सेनापति शर्माको तीन दिने भारत भ्रमण स्वीकृत गरेको थियो । उनको कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्न लागेका शर्माको यो भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध थप मजबूत हुने विश्वास गरिएको छ । यसअघि नेपाल भ्रमणमा आएका भारतिय सेनाअध्यक्ष नरवाणेलाई शर्माले त्रिभुवन विमानस्थलमा नै बलाधिकृत रथीको रुपमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement