सेनामा विशेष सम्बोधन गर्ने प्रधानसेनापति थापाको तयारी


काठमाण्डु– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकाल सकिन लाग्दा सकलदर्जालाई सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानसेनापति थापाले प्रधानसेनापतिमा नियुक्त भएको १ हजार दिनको अवसरमा जेठ २३ मा विशेष सम्बोधन गर्ने तयारी गरेको सैनिक स्रोतले जानकारी दियो । सैनिक स्रोतकाअनुसार थापाले आफ्नो तीन वर्षे कार्यकालमा गरेका काम र भावी नेतृत्वको चयनको विषयमा आफ्ना धारणा राख्ने तयारी गरेका छन् ।

प्रधानसेनापति थापा २०७५ भदौ २४ मा नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएका थिए । उनको नियमित कार्यकाल आगामी भदौ २४ मा सकिंदैछ । एक महिना पहिला विदमा बस्ने सैनिक परम्पराअनुसार थापा आगाीमा साउन २४ मा विदामा बस्नेछन् । उनले आफु निकट सैनिक अधिकारीहरुलाई आफु समयमै विदामा बस्ने र नेतृत्व हस्तान्तरणको लागी पनि समयमै प्रक्रिया सुरु गर्ने बताइसकेका छन् ।

प्रधानसेनापति थापाले सम्बोधनका क्रममा नेतृत्वको हस्तान्तरण गर्नेबारे पनि आफ्ना भनाई राख्ने तयारी छ । सेनापति थापा पदावधी थप्न लविङमा लागेको चर्चा चलेपछि प्रधानसेनापतिले आफु त्यो खेलमा नरहेको र नेतृत्वको हस्तान्तरण सैनिक नियम र परम्पराअनुसार हुने सन्देश दिन खोजेको सैनिक स्रोतले काठमाण्डुपाटीलाई बतायो ।

थापाले अवकास पाएपछि नेपाली सेनामा हालका बलाधिकृतरथी प्रभुराम शर्मा सेनाको प्रधानसेनापति बन्ने लाईनमा छन् । सेनामा दुई जना रथीको दरबन्दी छ । सेनाका अर्का रथी ईश्वर हमाल भने हाल फोर्स कमाण्डरका रुपमा मिसनमा कार्यरत छन् । उनी रथीमा बढुवा भएदेखी नै अनडफ मिसेनमा फोर्स कमाण्डरका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रधानसेनापतिको लाईनमा रहेका शर्मा २० बेसिकका सैनिक अधिकृत हुन । उनले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् । शर्मा २०७७ बैशाख १४ मा रथीमा बढुवा भएका थिए । उनि सेनाभित्र भद्र र व्यवसायिक सैनिक अधिकारीका रुपमा चिनिन्छन् ।

सैनिक ऐनअनुसार प्रधानसेनापति नियुक्तीको लागी सिफारिस प्रधानसेनापति थापाले नै वरिष्ठतम रथीबाट गर्नुपर्नेछ । सैनिक ऐनमा प्रधानसेनापतिको सिफारीसमा सेनाका वरिष्ठतम रथी मध्येबाट एक जनालाई प्रधानसेनापति नियुक्त गर्ने व्यवस्था छ ।

प्रधानसेनापति थापाले शर्मालाई नै सेनापतिको रुपमा सिफारीस गर्ने मनासाय बनाइसकेको सैनिक स्रोतको दावी छ । उनले आफु बिदामा बस्नुअघि नै उनको सिफारीस गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement