विद्यार्थी विद्रोहको सफल अवतरण पछि के गर्दैछ ‘कक्रोच’ ?

विद्यार्थी विद्रोहको सफल अवतरण पछि के गर्दैछ ‘कक्रोच’ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएसँगै कक्रोच जनता पार्टी (सीजेपी)को आन्दोलन औपचारिक रूपमा स्थगित भएपछि अब यसको आगामी रणनीति के हुने चर्चाको विषय बनेकोछ ।

सीजेपीको आन्दोलन सकिएपछि दिल्लीको जन्तर–मन्तर फेरि सामान्य अवस्थामा फर्किएको छ । तर अब फेरि सीजेपीले के गर्ने भन्ने विषयमा यससँग आवद्ध पदाधिकारीहरू स्वयं अनभिज्ञ छन् ।

तर सीजेपीका प्रमुख अभिजीत दीपके र उनका समर्थकहरूले छिट्टै आन्दोलनको आगामी रणनीति सार्वजनिक गर्ने बताएका छन् ।

तर मुख्य प्रश्न अहिले पनि उही छ–के सीजेपीको उद्देश्य पूरा भइसकेको हो ? एक महिनासम्म भारतीय राजनीतिमा चर्चाको केन्द्र बनेको यो अभियान अब हराएर जान्छ कि भविष्यमा पनि यसको प्रभाव रहनेछ ?

सामाजिक सञ्जालमा व्यंग्यका रूपमा सुरु भएको जेन–जीको यो अभियान आगामी दिनमा पनि प्रभावशाली बन्न सक्छ कि सक्दैन भन्ने विषयमा विभिन्न विज्ञहरूको धारणा आएको छ ।

सीजेपीको आन्दोलन प्रत्यक्ष रूपमा कुनै राजनीतिक दलको अभियानजस्तो देखिएन । यद्यपि यसको मञ्चमा कांग्रेस, समाजवादी पार्टी, तृणमूल कांग्रेस (टीएमसी), शिवसेना (उद्धव ठाकरे समूह) र एनसीपी (शरद पवार समूह) लगायतका विपक्षी दलका नेताहरू उपस्थित थिए ।

फिल्म र खेलकुद क्षेत्रका चर्चित व्यक्तित्वहरूले पनि सीजेपीलाई सार्वजनिक रूपमा समर्थन गरेका थिए ।

जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) को सेन्टर फर पोलिटिकल स्टडीजका प्राध्यापक डा. सुधीर कुमार भन्छन्, ‘सीजेपीले दीर्घकालीन राजनीतिक महत्वाकांक्षाबारे अहिलेसम्म केही भनेको छैन । उनीहरूको शैली हेर्दा तत्काल राजनीतिक दल बन्ने उद्देश्य देखिँदैन ।’

उनका अनुसार दिल्लीमा शिक्षा सम्बन्धी विषयमा पछिल्लो दस वर्षमा धेरै विद्यार्थी आन्दोलन भए । ती आन्दोलनहरू थाकिसकेको अवस्थामा सीजेपीले नयाँ ऊर्जा दिएको छ ।

आन्दोलनले केही महत्वपूर्ण उपलब्धि हासिल गरेको उनको धारणा छ । ‘राजनीतिक दलहरूले सीजेपीका मागलाई छिट्टै आफ्नो एजेन्डामा समेटे । प्रहरी कारबाही, हिरासत र एफआईआरका विषयमा विपक्षी दल तत्काल सक्रिय भए’, उनले भने ।

के अब सीजेपी सकिन्छ ?

वरिष्ठ पत्रकार तथा आम आदमी पार्टीका पूर्व सदस्य आशुतोषको धारणा भने फरक छ । उनले भने, ‘सीजेपीले ऐतिहासिक भूमिका खेलेको छ । यसले देखाइदिएको छ कि नरेन्द्र मोदीजस्ता शक्तिशाली नेतासमेत जनदबाबमा झुक्न सक्छन् र मन्त्रीको राजीनामा सम्भव हुन्छ ।’ तर उनी सीजेपी भविष्यमा राजनीतिक दल बन्ने सम्भावना भने देख्दैनन् ।

नेतृत्वको प्रश्न

सोनम वाङचुक शिक्षित, दूरदर्शी र राम्रो जनसंगठक हुन् । तर उनी जयप्रकाश नारायण होइनन् । यही कमी जेन–जी आन्दोलनमा देखिन्छ । सम्भवतः भविष्यमा सीजेपीभित्रैबाट कुनै नयाँ नेता उदाउन सक्ने जानकारहरू भन्छन् ।

हालै भारतमा आन्दोलनबाट जन्मिएर सफल बनेको प्रमुख राजनीतिक दल आम आदमी पार्टी (आप) हो । भ्रष्टाचारविरुद्धको आन्दोलनबाट सुरु भएको उक्त अभियान पछि राजनीतिक दलमा परिणत भएको थियो । सुरुमा त्यसका नेताहरूले पनि राजनीतिक महत्वाकांक्षा अस्वीकार गरेका थिए ।

त्यसैले केही सातामात्र पुरानो सीजेपी आन्दोलनको भविष्यबारे अहिले नै निश्चित भविष्यवाणी गर्न कठिन मानिन्छ ।

प्रध्यापक डा. सुधीर कुमार भन्छन्, ‘यो केवल सीजेपीको भविष्यको प्रश्न होइन, भारतका विद्यार्थी आन्दोलनको भविष्यसँग पनि जोडिएको विषय हो ।’ उनका अनुसार ‘कक्रोच’ प्रतीकको प्रयोग आफैंमा महत्त्वपूर्ण छ । ‘समाजले हेपिएका, सीमान्तकृत र कमजोर ठानिएका वर्गको आवाजलाई ‘कक्रोच’ प्रतीकले प्रतिनिधित्व गरेको छ’, उनले भने ।

विश्लेषकहरूले सीजेपीले जेन–जीभित्र लोकतान्त्रिक चेतना जगाएको बताउँछन् । पहिले युवालाई केवल ‘मिम’ बनाउने पुस्ता भनिन्थ्यो । तर आवश्यकता पर्दा उनीहरू सडकमा पनि उत्रिन सक्छन् भन्ने प्रमाणित भएको छ ।

सीजेपीलाई पूर्ण रूपमा सामाजिक सञ्जालबाट जन्मिएको आन्दोलन मानिन्छ । यसको सुरुवात सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्तले मे महिनामा गरेको एउटा टिप्पणीपछि भयो ।

न्यायाधीशले केही व्यक्तिलाई ‘कक्रोचझैँ जताततै फैलिने’ टिप्पणी गरेपछि सामाजिक सञ्जालमा त्यसलाई लिएर व्यापक बहस सुरु भयो ।

पछि उनले आफ्नो टिप्पणी युवावर्गविरुद्ध नभई नक्कली प्रमाणपत्रका आधारमा पेशामा प्रवेश गर्ने व्यक्तिहरूलाई लक्षित भएको स्पष्ट पारे ।

तर त्यसबेलासम्म कक्रोच जनता पार्टी सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो । पहिलो प्रदर्शन ७ जुन मा जन्तर–मन्तरमा भयो । त्यसपछि देशभर आन्दोलन फैलियो । १६ जुन देखि निरन्तर धर्ना सुरु भयो र अन्ततः २६ जुलाईमा धर्मेन्द्र प्रधानले राजीनामा दिए ।