काठमाण्डु – परीक्षाको प्रश्नपत्र चुहिएको र परीक्षामा भएको अनियमितताको विरोधमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै प्रदर्शन गरिरहेको ककरोच जनता पार्टी (सीजेपी) र सरकारबिच शनिबार तेस्रो चरणको वार्ता हुँदैछ।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार दिउँसो तेस्रो चरणको बैठक बस्दै छ। यस बैठकमा शिक्षामन्त्री प्रधानको राजीनामाको मागबारे सरकारले आफ्नो अडान स्पष्ट पार्नेछ।
सीजेपीले यो मागमा कुनै सम्झौता नहुने बताउँदै आएको छ। शुक्रबार बसेको दोस्रो चरणको बैठकमा केन्द्रीय मन्त्री जेपी नड्डाले सीजेपीले परीक्षा सुधारका लागि तीन माग र पाँच सुझाव दिएको र ती विषयमा छलफल भइरहेको बताएका थिए।
सीजेपीले प्रश्नपत्र चुहावट भएका कारण आत्महत्या गर्ने विद्यार्थीहरूका परिवारलाई एक करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिन र प्रदर्शनकारीहरूमाथिका मुद्दा फिर्ता लिन सरकारले सैद्धान्तिक रूपमा सहमति जनाएको दाबी गरेको छ।
यद्यपि, सरकारले भने उक्त दाबीको पुष्टि गरेको छैन। स्रोतका अनुसार प्रधानले राजीनामा दिने छैनन्। सरकार कडा रूपमा प्रस्तुत हुनेछ।
विरोध प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली सरकारले सप्ताहन्तसम्म सबै मदिरा पसलहरू राति ८ बजे बन्द नै गर्न आदेश दिएको छ। बिहीबार पनि पसलहरू निर्धारित समयभन्दा अगाडि नै बन्द गरिएका थिए। साथै दिल्ली मेट्रो रेल कर्पोरेशनले सुरक्षा कारण देखाउँदै लोक कल्याण मार्ग, जनपथ, सर्वोच्च अदालत, राजीव चौक र पटेल चौकसहित १८ वटा मेट्रो स्टेसनहरू अर्को सूचना नभएसम्मका लागि बन्द रहने घोषणा गरेको छ।
नीट पेपर लीकको विरोधमा शुक्रबार भारतका १५ भन्दा बढी राज्य र ३० भन्दा बढी सहरहरूमा र्याली निकालिएको थियो। कोलकातामा प्रदर्शनकारी र सुरक्षा बलबिच हिंसात्मक झडप भएको थियो भने मुम्बईमा ४०० र पटनामा ५६ जनालाई प्रहरीले हिरासतमा लिएको छ। यस घटनासँगै देशभर हालसम्म ३० वटा एफआईआर दर्ता भइसकेका छन्।




प्रतिक्रिया