काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुमबासीलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
सभापति गगनकुमार थापाको सभापतित्वमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न माग गरेको हो ।
कांग्रेसले सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको तर महिनौँसम्म अनिश्चिततामा राखेर अहिले अस्थायी आश्रयबाट समेत हटाउन खोजेको आरोप लगाएको छ ।
‘सरकारको यो निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको नेपाली कांग्रेसको ठहर छ,’ बैठकपछि भनिएको छ ।
राज्य नागरिकको अभिभावक भएको उल्लेख गर्दै कांग्रेसले घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व भएको जनाएको छ । असहाय नागरिकप्रतिको सरकारको व्यवहारमा मानवीय संवेदनाको अभाव देखिएको कांग्रेसको टिप्पणी छ ।
‘सुकुम्बासी समस्याको समाधान नागरिकलाई हटाएर होइन, उनीहरूको समस्या हटाएर गर्नुपर्छ,’ कांग्रेसले भनेको छ ।
होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि कांग्रेसले केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा ३ सदस्यीय समिति पनि गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य छन् ।
यसैबीच मंसिर ८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा बिहीबारसम्म ७० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । धारणा राख्ने क्रम जारी रहेकाले बैठक शुक्रबार बिहान ८:३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुन: बस्ने कांग्रेसले जनाएको छ ।
बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू, प्रदेश सभापतिहरू तथा अन्य नेताहरूले आफ्नो धारणा राखेका थिए । विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केही केन्द्रीय सदस्यले लिखित रूपमा धारणा पठाएका थिए ।



प्रतिक्रिया