टुंगियो कांग्रेस विवाद


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको लामो समयदेखिको विवाद टुंगिएको छ । १४औं महाधिवेशनको मिति यथावत् राख्ने तर तल्ला तहका अधिवेशनको मिति र विधानका धारामा गरिएको निलम्बन परिमार्जन गर्ने सहमतिपछि विगत दुई महिनाबाट देखिँदै आएको कांग्रेस विवाद टुंगिएको हो ।

गत २६ मंसिरबाट सुरु भएको विवाद ११ पुसको केन्द्रीय समितिको बहुमतको निर्णयपछि झनै झाँगिएको थियो । विवाद बढ्दै गएपछि संस्थापन समूहले ११ पुसको केन्द्रीय समिति बैठकमार्फत बहुमतका आधारमा १४औं महाधिवेशनको मिति तोक्नेसहित क्रियाशील सदस्यताका विषयमा रहेका विधानका केही धारालाई निलम्बन गर्ने निर्णय गरेको थियो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार भएको शीर्ष तहको बैठकपछि पछिल्लो विवाद समाधान भएको हो । शीर्ष तहमा भएको सहमतिलाई केन्द्रीय समितिबाट टुंग्‍याउन सोमबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।

नेता रमेश लेखकले पछिल्लो समय पार्टीभित्र देखिँदै आएको विवाद अन्त्य भएको बताए । ‘विगत केही समयदेखि देखिँदै आएको पार्टीभित्रको विवाद अन्त्य भएको छ, १४औं महाधिवेशन तोकिएकै मितिमा गर्ने बाँकी तल्ला तहका अधिवेशन केही तोकिएकै मितिमा र केही हेरफेर गर्नेगरी सहमति भएको छ,’ नेता लेखकले राजधानीसँग भने । नेता लेखकका अनुसार तरुण दलको म्याद थपको निर्णयमा समेत शीर्ष तहमा सहमति जुटेको छ । केन्द्रीय समितिले थप गरेको निर्णयअनुसार नै तरुण दलको म्याद ६ महिना थप गर्ने सहमति भएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement