काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक जेठ २७ र २८ गते सम्पन्न हो । जेठ २७ र २८ गते २ दिनसम्म चलेको बैठकले पार्टीको नीतिगत र सचेतनामूलक कार्यलाई अघि बढाउन ५ वटा विषयगत उपसमिति गठन गर्दै संयोजक समेत चयन गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा सम्पन्न बैठक पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको थियो । बैठकमा प्रतिष्ठानका प्रमुख शर्माले प्रस्तुत गरेको प्रस्तावका आधारमा उपसमितिहरू गठन गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
डायस्पोरा डाईलग उपसमितिको संयोजकमा डा. यादव पण्डितलाई चयन गरिएको छ । स्वास्थ्य बिमा र सेवामा पहुँच नीतिगत संवाद उपसमितिको संयोजकमा डा. अन्जनीकुमार झा चयन भएका छन् ।
घरेलु एवं डिजिटल हिंसा सचेतना उपसमितिको संयोजकमा स्वीकृति पौडेललाई तोकिएको छ । सार्वजनिक यातायात र सडक सुरक्षा सचेतना उपसमितिको संयोजकको जिम्मेवारी श्रीप्रसाद भलामीलाई दिइएको छ । खेलकुद नीति संवाद उपसमितिको संयोजकमा पूर्व क्रिकेटर विनोद दास चयन भएका छन् ।
नेपाली कांग्रेसका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार प्रतिष्ठानको बैठकले पार्टीलाई नीतिगत रूपमा थप परिपक्व बनाउन र समसामयिक सामाजिक विषयहरूमा जनचेतना जगाउन यी उपसमितिहरूमार्फत ठोस कामहरू अघि बढाउने लक्ष्य राखेको छ ।





प्रतिक्रिया