काठमाण्डु – नेपाली कांग्रेसले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको तत्काल उद्धार, राहत तथा पुन:स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको साउन ३१ गते बसेको बैठकले श्रावण ३० गते शनिबार राति गएको पहिरोमा परी जीवन गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको हो ।
बैठकले पहिरोमा परी घाइते भएकाहरूको तत्काल उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सम्भावित थप पहिरोको जोखिमका कारण विस्थापित भएका तथा घरबारविहीन भएका ७० भन्दा बढी परिवारको तत्काल उद्धार, राहत र पुन:स्थापनाको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।
कालिकोट लगायत पहाडी जिल्लामा पहिरोका कारण दर्जनौँ परिवार घरबारविहीन भएको भन्दै कांग्रेसले विस्थापित नागरिकलाई सुरक्षित स्थानमा पुन:स्थापित गरी आवश्यक राहतको प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ ।
विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यलाई उद्धार, पुन:स्थापना तथा राहत कार्यमा अविलम्ब सहभागी हुन कांग्रेसले निर्देशन दिएको छ । कांग्रेसको नेतृत्वमा रहेका प्रदेश तथा स्थानीय सरकारलाई समेत विपद्का घटनामा उद्धार, राहत र पुन:स्थापनाका लागि निर्देशन दिइसकेको जनाएको छ ।
बैठकमा १२ जना सदस्यले धारणा राखेका थिए । छलफल जारी रहेकाले केन्द्रीय कार्यसमितिको अर्को बैठक भदौ १ गते सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ ।
बैठकमा कोषाध्यक्ष उमेश श्रेष्ठ, सहमहामन्त्रीद्वय योगेन्द्र चौधरी र उदयशम्शेर राणा तथा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, जीवन परियार, अर्जुनप्रसाद जोशी, डा. चन्द्रकान्त भण्डारी, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य र प्रेमबहादुर खड्काले आ–आफ्नो धारणा राखेका थिए ।





प्रतिक्रिया