बारामा अपहरित बालिका खोजी कार्यलाई तीव्रता नदिनु राज्यको गैरजिम्मेवार व्यवहार : कांग्रेस

बारामा अपहरित बालिका खोजी कार्यलाई तीव्रता नदिनु राज्यको गैरजिम्मेवार व्यवहार : कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठक सम्पन्न भएको छ ।

प्रतिष्ठान प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठक २०८३ साउन २८ र भदौ ४ गते गरी २ दिनमा भएको हो ।

बैठकले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिकाको अपहरणपछि बलात्कार तथा हत्या भएको घटनालाई क्रूर, पाशविक र दानवीय प्रवृत्तिका रूपमा लिएको जनाएको छ । बालिका अपहरणमा परेको जानकारी समयमै पाए पनि खोजी कार्यलाई तीव्रता नदिनु राज्यको नागरिक सुरक्षाप्रतिको गैरजिम्मेवार व्यवहार भएको प्रतिष्ठानको ठहर छ ।

घटनाबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्दै पीडितलाई न्याय र परिवारलाई राहत उपलब्ध गराउने सुनिश्चितता राज्यले गर्नुपर्ने तथा यस्ता आपराधिक प्रवृत्तिलाई निरुत्साहित गर्न राज्यका निकायलाई थप जिम्मेवार बनाउनुपर्नेमा प्रतिष्ठानले जोड दिएको छ ।

बैठकको दोस्रो दिनको सुरुआतमा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्मृतिमा प्रतिष्ठान प्रमुख शर्माले श्रद्धासुमन व्यक्त गरेका थिए । प्रतिष्ठानका उपप्रमुख मधु आचार्य तथा सदस्यहरूले स्वर्गीय गिरीसँगका आफ्ना अनुभव समेत बैठकमा सुनाएका थिए ।

बैठकमा प्रतिष्ठानका ३ उपसमितिले विषयगत नीति तथा कार्ययोजना प्रस्तुत गरेका थिए । यौनिक तथा लैंगिक अल्पसंख्यकसम्बन्धी नीति तथा कार्ययोजना उपसमितिका संयोजक प्रतीक्षा चापागाईं, स्वास्थ्य बिमा र सेवामा पहुँच नीतिगत संवाद उपसमितिका संयोजक डा. अञ्जनीकुमार झा तथा स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमितिका संयोजक डोलराज भुसालले आ–आफ्ना विषय प्रस्तुत गरेका थिए ।

प्रस्तुतिमाथि प्रतिष्ठानका सदस्यहरूले सुझाव तथा जिज्ञासा राखेका थिए । बैठकमा भदौ ६ गते आयोजना हुने ग्रीन रन महिला रि–रन तथा भदौ ११ गते हुने महिला उद्यमशीलता सम्मेलनको तयारीबारे समेत जानकारी गराइएको थियो ।

प्रतिष्ठानका कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस नोटमार्फत बैठकका निर्णय तथा छलफलबारे जानकारी गराइएको छ ।