काठमाण्डु – सत्तासाझेदार दल नेपाली कांग्रेसभित्र पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा गएका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले प्रभावकारी काम गर्न नसकेको आवाज चर्को रूपमा उठेको छ ।
मुलुकभर ११ र १२ असोजमा आरीघोप्टे वर्षा दुई दिन निरन्तर परेपछि आएको बाढीपहिरोले वितण्डा मच्चाउँदा प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएकाले सिंह कार्यवाहक प्रधानमन्त्री थिए । पार्टीकै कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्री हुँदा पनि बाढीपहिरोबाट हाराहारी दुई सय ५० जनाको ज्यान गएको र अर्वौ धनको क्षति हुँदा न समयमै उद्दार भयो न त विपद्पछि दिने राहत र तत्कालिन पुनःस्थापनामा भनेजस्तो काम भयो भनेर आलोचना भइरहेको हो ।
उपप्रधानमन्त्री सिंहले पाएको अवसर सदुपयोग गर्दै सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधार गरेर जनमत जित्ने काम गर्नुपर्नेमा विपद्को समयमा कार्य कुशलता देखाएर आफूलाई सावित गराउन नसक्दा त्यसको अपजस पार्टीले ब्यहोर्न परेको भन्दै सिंहको आलोचना भइरहेको हो ।
त्यस्तै, सभापति देउवाको सफल कमान्डर बनेर पार्टीमा अन्य नेताको समेत विश्वास जितेका गृहमन्त्री लेखकले पनि न उद्दारका काममा तदारुकता दिन सके, न तत्कालको पुनस्थापना र राहत वितरणमा । तयसले पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकमा उनको चर्को आलोचना भइरहेको छ
सिंहले भने मुख्यसचिव एकनारायण अर्यालले सहयोग गर्न नसक्दा आफूले विपद्मा भनेबमोजिमको काम गर्न नसकेको बताउने गरेका छन् । १२ असोजमा कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा विपद् व्यवस्थापनको बैठक र मन्त्रिपरिषद्को बैठक राख्न खोज्दा मुख्यसचिव अर्यालले टेलिफोननसमेत नउठाएको उनको गुनासो हुने गरेको छ ।
अर्याल मुलकुभर विपद् भइरहेको बेलामा गृहजिल्ला स्याङ्जाका विभिन्न ठाउँमा पञ्चेबाजासहित माला, खादासहितको सम्मान थाप्दै थिए । राजनीतिक नेतृत्व गर्ने प्रधानमन्त्री स्वदेशमा नहुँदा मुख्यसचिवले राजधानी छोड्न नमिल्ने भए पनि उनी स्याङजामा रहेकाले सिंहले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएनन् ।
लेखकले भने गृह मन्त्रालयभित्रै कर्मचारीहरू र एउटा विभागबाट अर्को विभागमा समन्वय हुन नसक्दा विपद्मा आफूहरू चुक्न परेको जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी बैठकमा बताएका थिए ।
‘विपद् प्राधिकरण, मन्त्रालयभित्रको कमान्ड पोस्ट, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाबीचमा समन्वय हुन सकेन । कर्मचारीलाई क्रस गरेर जाने कुरा पनि भएन । सरकारी निकायले पनि सही सूचना नदिँदा कहीँ न कहीँ अप्ठ्यारो प¥यो,’ मनत्री लेखकले विपद् प्राधिकरणको बैठकमा भनेका थिए ।
कांग्रेसले सरकारले गर्न सक्नेजति काम गर्न नसकेको बताएको छ । आइतबार प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले सरकारले सक्नेजति काम गर्न नसकेको बताएको हो ।
‘चाडबाडको मुखमा आएको विपद्मा हदैसम्म क्षमता प्रदर्शन गरेर नागरिकको जनधनको रक्षा गर्न खटिनुपथ्र्यो । नागरिकले देख्ने बुझ्ने र सन्तुष्ट बनाउने गरी भने खट्न सकिएको छैन,’ कांग्रेसले भनेको छ ।
मौसमविद्हरूले भनेअनुसार सतर्कता अपनाउनुपर्नेमा सतर्कता अपनाउन नसकेका कारणले क्षति कम गर्न सरकारको क्षमता नपुगेको पनि कांग्रेसको भनाइ छ ।
मनसुन पहिला नै यस वर्षमा १८ लाख व्यक्ति प्रभावित हुने र ४ लाख घरपरिवारलाई प्रभावित बनाउने भनिए पनि पूर्वतयारीमा भने सरकार चुकेको छ । चार सय बस्ती तुरुन्त सार्नुपर्छ भनिरहँदा त्यता सरकारको ध्यान गएको छैन ।
कांग्रेसले १५ असोजको बोलाएको संसदीय दल बैठकमा बाढीपहिरोको विपद्मा सरकार असफल भएको धारणा सांसदहरूले राखेका थिए । बैठकमा सांसद राजन केसीले विपद्मा आफ्नै दलको गृहमन्त्री असफल भएको बताए ।
सांसद नारायण खड्काले चाडपर्वको मुखमा जनतालाई घर लैजाने प्रबन्ध गर्न नसके अर्को विपद् आइपर्ने चेतावनी दिएका थिए । सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीमाथि प्रश्न उठाएका थिए । अमेरिकाबाट नेपाल फर्किएपछि ओलीले जे मनमा लाग्यो, त्यही बोल्दै हिँडेको उनको भनाइ थियो ।
इतिसम्मकी उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखक दलको बैठकमा रक्षात्मक हुनुपरेको थियो । बैठकमा गृहमन्त्री लेखकले नख्खु घटनालाई मात्र लिएर सरकारले गरेका समग्र कामहरू मूल्याकंन गरिनु गलत भएको बताएका थिए ।
चर्को आलोचना भएपछि सभापति शेरबहादुर देउवाले कार्यशैली परिवर्तन गर्न पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया