कांग्रेसभित्रै ‘बदनाम’ प्रधानमन्त्री देउवा


काठमाण्डु – लामो प्रतीक्षापछि सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि नेपाली कांग्रेसका नेता कार्यकर्ता खुसी भए, तर सरकार बनेको एक वर्षभित्रै देउवा सरकार बदनाम भइरहेको छ ।

देउवा सरकार यतिसम्म बदनाम भएको छ कि पार्टीकै उच्च पदस्थ नेताहरू खुलेरै सामाजिक सञ्जालमा सरकारको विरोध गर्न थालेका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हालै सामाजिक सञ्जालमा लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी विधेयक संशोधन अध्यादेश ल्याउँदा कांग्रेसले विरोध गरेको थियो । अहिले कांग्रेस नेतृत्वकै सरकार हुँदा हुबहुँ विधेयक संसदमा अगाडि बढेको छ । कांग्रेसकै महामन्त्री शर्माले पत्तै पाएनन्, सामाजिक सञ्जालमा विरोध गर्न थाले ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा समेत प्रधानमन्त्री देउवा र सरकारको चर्काे आलोचना भइरहेको छ । नेता डा. शेखर कोइरालाले देउवा सरकारका कामकारवाहीमाथि गम्भीर प्रश्न गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा गलत काम भएको भन्ने गरेको कांग्रेसले आफ्नो सरकार बनेपछि ती कुरा नसच्याएकोमा कोइरालाले असन्तुष्टि व्यक्त गरे ।

उनले बैठकमा भने, ‘गठबन्धन दलको साझा कार्यक्रममा पनि विगत सरकारले गरेको अलोकतान्त्रिक गतिविधि सच्याउन भन्यौं तर वर्तमान सरकार बनेको पनि झण्डै १ वर्ष पुगिसक्यो तर यस्ता विषयहरू प्राथमिकतामा किन परेनन् ? भ्रष्टाचारका काण्डहरूको छानबिन किन ओझेलमा पर्‍यो ?’ सरकार नेतृत्वको हिसाबले पार्टी जवाफदेही बन्न सकेन भने आगामी निर्वाचनलाई समेत प्रभाव पार्ने ध्यानाकर्षण गर्न चाहन्छु ।’

देउवा सरकार बनेपछि जनताको दैनिक जीवन दिनानुदिन कष्टकर बन्दै गएको, महंगीले जनताको ढाड सेकिएको, बेरोजगारी दिनानुदिन बढ्दै गएको विषयमा पार्टी गम्भीर हुन नसकेकोमा कोइरालाले असन्तुष्टि जनाएका छन् । चुनावमा कम्युनिस्टसँग तालमेल गरेर पार्टीको आदर्श र सिद्धान्त कहाँ पुर्‍याउन खोज्दैछौ भनेर कोइरालाले प्रश्न गरेका छन् ।

‘तालमेलका नाममा स्थानीय तहमा महिला सहभागिता खुम्च्याउने काम भयो । त्यो पनि विचार गर्न जरुरी छ । तालमेलले कांग्रेस पार्टीलाई भन्दा अन्य पार्टीलाई बढी लाभ भयो,’ कोइरालाले भने । देउवा सरकारले राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्रीको मातहत कायमै राखेकोमा पनि कोइरालाले आपत्ति जनाएका छन् ।

नेता कोइरालाले प्रश्न गरेका छन्, ‘नेपाली कांग्रेसका पार्टी सभापति देशको प्रधानमन्त्री हुनुहुन्छ । जनताको दैनिक जीवन दिनानुदिन कष्टकर बन्दै गएको छ । महंगीले जनताको ढाड सेकिएको छ । बेरोजगारी दिनानुदिन बढ्दो छ । हुनेखानेहरू समेत सामान्य जीवन बिताउन कमिनाइ महसूस गरिरहेका छन् भने गरीब, निमुखा, मजदुर तथा नागरिकको अवस्था के भएको होला ? हामी काठमाडौं बसेर त्यसको पीडाबोध गर्न सक्दैनौं । सरकारको कार्यक्षमतामाथि बुद्धिजीवी, सञ्चार जगत, व्यवसायी तथा आम नागरिकले समेत प्रश्न गर्न थालेका छन् । यस विषयमा पार्टी गम्भीर बन्न जरुरी छ ।’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाएर सत्तारुढ गठबन्धनले अलपत्र पारेको छ । गठबन्धन सरकारको यस्तो कार्यको पनि सर्वत्र आलोचना भइरहेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले असम्बन्धित व्यक्तिलाई अर्थ मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको, व्यापारीको स्वार्थअनुसार बजेट ल्याएको, सीसीटीभी फुटेज डिलिट गराएको लगायत प्रकरण छताछुल्ल छन् । स्यानेटरी प्याडको व्यापारमा छोरालाई फाइदा पुग्ने गरी प्रधानमन्त्री देउवाले बजेटमा प्रबन्ध मिलाउन लगाएको चर्चा पनि सेलाएको छैन ।

‘प्रधानमन्त्रीज्यूले कुर्सी पाइहाल्नुभयो, उहाँलाई देश बनाउने र विकास गर्ने ध्यान नै छैन । उहाँलाई पार्टी सभापति बन्ने र आगामी चुनावमा गठबन्धन गरेर फेरि प्रधानमन्त्री बन्ने ध्यान मात्रै छ,’ कांग्रेसको उच्च स्रोतले नाम नखुलाउने शर्तमा भन्यो, ‘सरकार चलाउने त उहाँकी श्रीमती आरजु राणा, साला भूषण राणा, स्वकीय सचिव भानु देउवाले हो, देउवालाई मतलबै छैन । गठबन्धन टिकाउन पैसा जुटाइदिए भयो ।’

गृह मन्त्रालयभित्र प्रहरीको सरुवा–बढुवामा ‘कमिसन’ आतंक नै मच्चिएको चर्चा चल्छ । पार्टीभित्र मात्रै होइन, प्रशासनिक र फौजी क्षेत्रमा पनि देउवा सरकार बदनाम हुँदै गएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित हुनुपर्नेमा देउवा सरकारले अमेरिकासहित पश्चिमा देशबाट ऋण लिने तर चीनबाट अनुदान मात्रै लिने नीति लिएको छ ।

यस्तै विवादित नीतिका कारण देउवा सरकार अन्तर्राष्ट्रिय स्तरमा समेत बदनाम हुँदैछ । जनता महंगीको मारमा छन् । अर्थतन्त्र धरासायी हुने अवस्थामा छ । बैंकमा तरलता अभाव छ । किसानले मल पाएका छैनन् । विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । तर देउवा सरकारले यतिबेला हतियार किन्ने प्रक्रिया अगाडि बढाएको छ ।

हतियारबाट कमिसन आउने भएकाले सक्रियताका साथ प्रक्रिया अगाडि बढेको स्रोतको दाबी छ । ‘देउवा सरकार कमिसन आउने कुनै पनि कुरामा ढिलाइ गर्दैन,’ स्रोतले भन्यो, ‘किसानलाई दिने मल र विद्यार्थीलाई चाहिने पाठ्यपुस्तकमा खासै धेरै कमिसन नआउने भएकाले सरकारले प्राथमिकतामा राखेन । देउवा सरकार चलाउने पत्नी, साला र स्वकीय सचिव कमिसन केन्द्रित छन् ।’

सोमबार सम्पादकहरूसँगको अन्तक्र्रिया कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गम्भीर प्रश्न गर्दै भने, ‘सरकार सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ? यतापट्टि जान चाहन्न, मेरो विषय बनाउन चाहन्न । दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ ? भिनाजुले चलाउनुहुन्छ कि सालाले चलाउनुहुन्छ ? प्रधानमन्त्रीले चलाउनुहन्छ कि रियल पावरवाला हुँ भन्नेले चलाउनुहुन्छ ? जसले चलाए पनि चलाएको त यही हो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement