कांग्रेसद्वारा अर्थसहित ४ मन्त्रालय लिएर मधेश सरकारमा सहभागी हुने निर्णय

कांग्रेसद्वारा अर्थसहित ४ मन्त्रालय लिएर मधेश सरकारमा सहभागी हुने निर्णय

अर्थमन्त्री रौतहटका सुनिल यादव बन्ने


काठमाण्डु – नेपाली कांग्रेस अर्थसहित चार मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । आज बसेको मधेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सतिशकुमार सिंहले अर्थसहित चार मन्त्रालय दिन सहमत भएको भन्दै चार मन्त्रालय लिएर सरकारमा जाने निर्णय गरेको हो ।

यसअघि मुख्यमन्त्री सिँहले अर्थ मन्त्रालय आफैंसँग राख्ने भनेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको थियो । त्यसपछि मुख्यमन्त्री सिंह अर्थसहित ४ मन्त्रालय दिन सहमत भएपछि बसेको कांग्रेस संसदीय दलको बैठकले चार मन्त्रीको नाम पनि मुख्यमन्त्रीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रीका लागि रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र सर्लाहीका कौशल किशोर रायको नाम मुख्यमन्त्रीलाई पठाएको जानकारी कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दिए ।

केन्द्रमा बनेको कांग्रेस–एमाले गठबन्धनमा मधेशमा जनमत नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति भएको थियो । २२ असारमा कांग्रेसले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिएको थियो ।

कांग्रेसले अर्थमन्त्रीमा रौतहटका सुनिल यादवको नाम सिफारिस गरेको छ । पर्साका जनार्दन क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, धनुषाका शेषनारायण यादवले ऊर्जा, सिँचाई तथा खानेपानी र सर्लाहीका कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्ने निर्णय कांग्रेसले गरेको छ ।

कांग्रेस सरकारमा सहभागी हुने भएसँगै जनमत पार्टीका सिंहको सरकारमाथिको संकट टरेको छ ।