काठमाण्डु –एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका केही मन्त्रीहरू परिवर्तन गर्ने चर्चा चलिरहेको बेलामा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले भने तत्काल पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू परिवर्तन नगर्ने बताएको छ ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारमा राम्रो पर्फमेन्स देखाउन नसक्ने एमालेका तीन र कांग्रेसका तीन मन्त्री परिवर्तन गर्ने तयारी गरेका थिए । त्यसका लागि ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पटक–पटक छलफल पनि गरेका थिए । गत दसैँ अगाडि नै मन्त्रीहरू परिवर्तन हुने व्यापक हल्ला चलेको थियो ।
तर, कांग्रेसका कुनै पनि नेताहरूले यसबारेमा केही बोलेका थिएनन् । महामन्त्री गगन थापाले मन्त्री परिवर्तनबारे आज पोखरामा पत्रकारहरूसँग कुरा गर्दा मुख खोलेका छन् । थापाले तत्काल कुनै मन्त्री परिवर्तन गर्ने योजना पार्टीको नरहेको बताएका हुन् ।
‘नेपाली कांग्रेसमा तत्काल मन्त्री फेर्नेबारे कुनै छलफल भएको छैन,’ महामन्त्री थापाले भने, ‘सरकारमा पार्टीबाट गएका मन्त्रीहरूले अबको छ महिनाभित्र प्रभावकारी काम गरेर देखाउनुपर्ने निर्देशन दिइएको छ । त्यो बेलासम्म मन्त्रीहरूको काम बस्तो हुन्छ, त्यसले मन्त्री फेर्नेबारे पार्टीले निर्णय लिन्छ ।’
वर्तमान सरकार परिवर्तन नहुने थापाले बताए । सरकारले कामको गती बढाउनु पर्ने आवश्यकता रहेको थापाको भनाइ थियो । ‘सरकार बदलिन्न तर जसरी काम भइरहेको छ त्यसरी काम गरेर हुँदैन, गति बढाउनुपर्छ,’ थापाले भने।
ओली नेतृत्वको सरकामा कांग्रेसबाट १० मन्त्री र दुई राज्यमन्त्री छन् । कांग्रेसबाट सरकारको नेतृत्व उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेर नेता प्रकाशमान सिंहले गरेका छन् ।
उनी बाहेक कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राना देउवा, कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासिया, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, उर्जा जलस्रोत तथा सिंचाईंमन्त्री दीपक खड्का र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही छन् । त्यस्तै वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मा र ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णमान तामाङ छन् ।
कांग्रेसबाट राम्रो पर्फमेन्स दिन नसकेका पर्यटनमन्त्री पाण्डे, उपप्रधानमन्त्रीसहित पार्टीको नेतृत्व गरेका सिंहसहितका नेता रेड जोनमा थिए ।
प्रतिक्रिया