मंसिरभित्र सम्पन्न हुने गरी महाधिवेशन कार्यतालिका बनाउन देउवाको निर्देशन


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र सम्पन्न हुने गरी महाधिवेशन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र निर्वाचन समितिका सदस्यहरुबीचको छलफलमा बोल्दै काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले मंसिर भित्र सम्पन्न हुने गरी १४ औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका हुन् ।

यता, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने महाधिवेशन मंसिर भित्र सम्पन्न हुने गरी औपचारिक निर्णय गराउन तत्काल पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाउन सभापति देउवासँग माग गरेको छ । महाधिवेशनको कार्यतालिकामा हुने सानोतिनो हेरफेर र महाधिवेशनको अन्य तयारीको लागि पनि तत्काल केन्द्रिय कार्य समितिको बैठक बोलाउन आफूले माग गरेको वरिष्ठ नेता पौडेलले बताए ।

नेपाली काँग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर ९ देखि १२ गतेसम्म काठमाण्डुमा गर्ने तय गरेको थियो । तर तल्लो तहको अधिवेशन गर्ने काममा ढिलाई भएपछि सभापति देउवाले मंसिरभित्र गरिसक्ने गरी निर्वाचन कार्यतालिका तय गर्न पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement