कांग्रेस अन्तरिम संरचना, ७२ जिल्लामा बन्यो संघीय र प्रदेश समिति


काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभरका १ सय ६५ संघीय निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशस्तरीय निर्वाचन क्षेत्रमध्ये सहमतिबाटै ७२ जिल्लामा पर्ने समितिहरूमा नेतृत्व दिएको छ । कांग्रेसले २० भदौभित्रै सबै संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा समिति समायोजन गरिसक्ने गरी केन्द्रीय समितिबाट निर्देशिका बनाएको थियो ।

सोहीअनुसार कांग्रेसले निर्देशिकालाई नै टेकेर शनिबार साँझसम्म ७२ जिल्लाका संघीय निर्वाचन क्षेत्रीय समिति तथा प्रदेशस्तरीय निर्वाचन क्षेत्रीय समितिहरूलाई पूर्णता दिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘हालसम्म ७२ जिल्लामा संघीय तथा प्रदेशस्तरीय निर्वाचन समिति गठन भएको जानकारी आएको छ, बाँकी जिल्लामा समेत आजभोलिमा नै सकिन्छ ।

‘पार्टीले बनाएको निर्देशिकाको कमा तथा फुलिस्टप पनि परिवर्तन नगरी धमाधम सहमति भइरहेको छ । प्रायःजसो १३औं महाधिवेशनका सांगठनिक संरचना मार्फत नै नेतृत्व दिइएको छ,’ मुख्य सचिव पौडेलले थपे ।

कांग्रेसले २४ भदौबाट पार्टीको दोस्रो चरणको जागरण अभियान सुरु गर्ने भन्दै अभियानलाई समेत प्रभावकारी बनाउन सबै संघीय तथा प्रदेश निर्वाचन क्षेत्रीय समितिहरू बनाइसक्ने लक्ष्य लिएको थियो । यस्तै, प्रदेश संरचनाबाहेकमा भने कांग्रेसले कात्तिकभित्र संरचना गठन गरिसक्ने लक्ष्य लिएको छ । तर, प्रदेश संरचनाका विषयमा भने शीर्ष तहमा कसरी संरचना बनाउने भन्ने सहमति हुन सकेको छैन । याे समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement