काठमाण्डु – सरुवा भएर आउने सुरक्षाकर्मी तथा कर्मचारीमा संक्रमण देखिएको छ । कर्मचारी आवतजावत तथा सरुवा नरोकिँदा संक्रमण समुदायस्तरमा फैलने जोखिम बढेको छ । तराई तथा तीव्र संक्रमण फैलिइरहेका क्षेत्रबाट आउनेमा संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित भएका छन् ।
तराईबाट सरुवा भएर ओखलढुंगा र खोटाङ आएका ७ जना प्रहरीमा संक्रमण देखिएको छ । ओखलढुंगामा १ र खोटाङमा ६ जना प्रहरीमा शनिबार संक्रमण पुष्टि भएको हो । विराटनगरबाट खोटाङ आएका ११ प्रहरी जवानमध्ये ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनीहरू साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका थिए ।
कोरोना संक्रमण भएको मौखिक जानकारीका आधारमा उनीहरूलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका मेडिकल अधिकृत डा. शैलेश श्रेष्ठले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने प्रहरी जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको घोषणा गर्न बाँकी छ । हाजिर हुन आए लगत्तै जवानहरूलाई जिल्ला प्रहरी कार्यालयको क्वारेन्टाइनमा राखिएको थियो । संक्रमण देखिएका ६ जनासँगै राखिएका अन्य २ जनालाई अझै केही समयका लागि क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायणप्रसाद चिमोरियाले बताए ।
उनीहरूको साउन २७ गते स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो । त्यस्तै सप्तरीबाट ओखलढुंगा आएका एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिए । उनका अनुसार सरुवा भएर आएका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको र उनको उपचारको व्यवस्था जिल्लामै गरिएको छ । सरुवा भएर आउने तथा लकडाउन खुलेपछि प्रदेशबाट अनुगमनमा आउने कर्मचारीमा संक्रमण पुष्टि भएपछि कर्मचारी सरुवा, अनुगमन र अन्य आवतजावत पूर्ण रूपमा रोक्न स्थानीयले माग गरेका छन् ।
बाहिरबाट आउने कर्मचारीलाई नरोके संक्रमण समुदायमा पुग्ने अवस्था देखिएको स्थानीय अशेष श्रेष्ठ बताउँछन् । हालै कृषि तथा पशुपन्छी मन्त्रालयका कर्मचारी अनुगमनमा आएका थिए । विराटनगर फर्किएपछि उनीहरूमा संक्रमण देखिएको थियो । उनीहरूको कन्ट्र्याक ट्रेसिङलगायतका सुरक्षा सतर्कता नभएको स्थानीयको गुनासो छ ।
भेटिरेनरी अस्पतालका कर्मचारी सम्पर्कमा रहेकाले उनीहरूको स्वाब परीक्षणका लागि पठाइएको स्वास्थ्य प्रमुख तिवारीले बताए । तर, रिपोर्ट अहिलेसम्म आएको छैन । ओखलढुंगाका १ सय १० जनाको स्वाब परीक्षण गर्न पठाइएकोमा १ सय ५ जनाको रिपोर्ट आइसकेको छ। तीमध्ये एक प्रहरीमा संक्रमण देखिएको हो । यो खबर आजको अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।




प्रतिक्रिया