आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज दिइने, क-कसले पाउँछन् ?


काठमाण्डु- सरकारले आइतबारदेखि कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका अग्रपंक्तिमा खटिने व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो ।

सोही निर्णय अनुसार आजबाट अग्रपंक्तिमा खटिने अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूले बुस्टर डोज पाउनेछन् ।

त्यस्तै, सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने स‌घ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइनेछ । मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement